कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान क्षेत्रको सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । धुलो र हिलोका कारण खेलाडी तथा दर्शकले सास्ती खेप्दै आएको सडक सुधारका लागि सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार बोलपत्र आह्वान गरेको हो ।
नेपाल सरकारको आफ्नै स्रोतबाट सञ्चालन हुने आयोजनाअन्तर्गत सडक चौडा गर्ने, माटो काट्ने तथा भर्ने, बेस र सब–बेस निर्माण गर्ने, नाली तथा पर्खाल बनाउने काम गरिनेछ । साथै, सडकमा आस्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्रे गर्नुका साथै ट्राफिक चिह्नसमेत राखिनेछ ।
सडक डिभिजन कार्यालयका अनुसार ठेक्का सम्झौता भएको तीन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । आयोजनाको ठेक्का पाउन इच्छुक निर्माण कम्पनीले आवश्यक प्राविधिक अनुभव तथा आर्थिक मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।
बोलपत्रमा सहभागी हुन निर्माण कम्पनीले पछिल्लो १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक कारोबार ८ करोड ९८ लाख रुपैयाँ गरेको हुनुपर्नेछ । त्यस्तै, समान प्रकृतिको काममा कम्तीमा २ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको अनुभव र वार्षिक कम्तीमा ४९१ घनमिटर आस्फाल्ट कंक्रिटको काम सम्पन्न गरेको प्राविधिक अनुभव आवश्यक पर्नेछ ।
इच्छुक निर्माण व्यवसायीले ५ हजार रुपैयाँ दस्तुर बुझाएर बोलपत्र खरिद गर्न सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम म्याद कात्तिक १२ गते दिउँसो १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे सडक डिभिजन कार्यालय काठमाडौं, मीनभवनमा बोलपत्र खोलिनेछ ।
बोलपत्रमा सहभागी हुने निर्माण व्यवसायीले १६ लाख ४६ हजार रुपैयाँ बिड सेक्युरिटी जम्मा गर्नुपर्नेछ । बोलपत्रसम्बन्धी जिज्ञासा समाधानका लागि कात्तिक १० गते दिउँसो १ बजे प्रि–बिड बैठकसमेत आयोजना गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस