होमपेज > के सुनको भाउ १ लाखमा झर्दैछ?

के सुनको भाउ १ लाखमा झर्दैछ?

बिज्ञापन

पछिल्ला केही दिन सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि भाउ घट्दै गएको हो ।

गत शुक्रबार तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७३ हजार ८ सयमा झरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस ३ हजार १ सय ६५ अमेरिकी डलरसम्म पुगेको सुन सोमबार ३ हजार हाराहारीमा झरेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजार र शुक्रबार नेपालमा हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन लगातार झर्न थालेको छ । सुनको भाउ घट्नुमा ठोस आधार नरहेकाले केही दिनमै यो गिरावट अन्त्य हुने अनुमान छ । विश्वका ठूला स्टक मार्केट केही महिनादेखि नै ओरालोमा रहेकाले तिनको घाटा पूर्तिका लागि सुनको बिक्री बढेको अनुमान छ ।

एक वर्षमा सुनको भाउमा उच्च वृद्धि देखिएकाले अहिले सुनबाटै नाफा लिएर नगदमा रूपान्तरण गर्ने वा अरू सम्पत्तिको नोक्सानी ‘कभर’ गर्नका लागि ठूला संस्थागत लगानीकर्ताले सुनको बिक्री बढाएको अनुमान छ । अर्कातर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गरेको अतिरिक्त करमा सुनसहित बहुमूल्य धातु अलग गरिएको छ । पहिले नै सुनसहित बहुमूल्य धातुलाई पनि कर नीतिले प्रभाव पार्ने अनुमान सहित बजारमा खरिद बढेको थियो, तर ट्रम्प नीतिले सुनसहित धातुलाई अलग गरेपछि अहिले नाफा बुक भएको अनुमान छ ।

‘ट्रम्पको पारस्परिक करबाट बहुमूल्य धातु अलग्याएपछि बिक्री बढेको छ,’ कोटक सेक्युरिटिजका सहायक उपाध्यक्ष तथा कमोडिटी रिसर्च प्रमुख कायनात चेनवालाले भने । एक वर्षदेखि नै सुनको भाउले राम्रो वृद्धिदर समातेको थियो । यो वृद्धिले मुद्रास्फीति र आर्थिक मन्दीको चिन्ता थपिएको थियो । त्यसैले पछिल्ला दिनमा बिक्री चाप बढेको छ ।

‘सुन बजारमा पनि धेरै भ्रम र अनिश्चितता छन्, अस्थिर र अनिश्चित बजारबीच लगानी सुरक्षित गर्ने वा नाफा बुक गर्ने क्रम चल्नु स्वाभाविक र जरुरी पनि छ,’ आईजी ग्रुपका बजार रणनीतिकार येप जुन रोङले सीएनबीसीलाई भने । विश्वका स्टक मार्केट ओरालो लागेसँगै थप मन्दी बढ्ने अनुमानपछि लगानीकर्ता नगदमा बस्न रुचाएको देखिएको छ । अमेरिकाले अन्य देशबाट आयातित वस्तुमा अतिरिक्त कर लगाउनु र अन्य मुलुकले पनि सोहीअनुसार अमेरिकी सामान आयातमा कर लगाएसँगै विश्वमा आर्थिक मन्दी आउने अनुमानले लगानीकर्तामा त्रास बढेको छ ।

यस्तो मन्दीको डर हुँदा सामान्यतः सुनमा आकर्षण बढ्ने र त्यसले मूल्य बढ्नुपर्ने हो । तर, यतिबेला सुनको भाउ धेरै नै माथि पुगिसकेकाले यसमा पनि नाफा बुकको क्रम चलेको हो । अर्कातिर, विश्वका ठूला स्टक मार्केट केही महिनादेखि ओरालो लागेपछि त्यसको नोक्सानी समेत सुनबाटै भर्नतिर लगानीकर्ता लागेको अनुमान छ ।

‘३८ प्रतिशत घट्ने अनुमान हावादारी’

अमेरिकास्थित मर्निङस्टारका रणनीतिकार जोन मिल्सले सुनको मूल्य हालको उच्चतम बिन्दु प्रतिऔंस ३ हजार बढी रहेकोमा ३८ प्रतिशतसम्म झर्न सक्ने अनुमान गरेका छन् । उनको अनुमान मिल्न गए प्रतिऔंस १ हजार ८ सय २० डलर हाराहारी हुनेछ । ‘सुनको भाउले लामो वृद्धिदर समात्नुमा विभिन्न डर कारक थिए,’ मिल्सले भने, ‘तर, अब मूल्यवृद्धिको अपेक्षा कम हुँदै जानु र व्यापार सामान्यीकरणको सम्भावनासँगै सुनको भाउ पुरानै बिन्दुतिर झर्न सक्छ ।’

उनको यही अनुमानलाई लिएर नेपाल सहित अन्य देशमा समाचार बनाइए । उनको अनुमान अनुसार नेपाली बजारमा सुनको भाउ १ लाख ११ हजारसम्म झर्न सक्ने छ । यसैलाई लिएर सुनको भाउ १ लाखमा झर्ने भन्दै शीर्षक तानिए । तर, यो कुनै हावादारी अनुमान रहेको भन्दै चौतर्फी खण्डन भइरहेको छ । अमेरिकाले थालेको व्यापार युद्ध र त्यसपछिको सम्भावित परिणामलाई मिल्सले पूरै बेवास्ता गरेका छन् ।

उनले मूल्यवृद्धिको अपेक्षा कम भएको बताइरहँदा मूल्यवृद्धि झन् बढ्ने संकेत देखिएको छ । अमेरिका र अन्य देशले एकअर्कालाई कर बढाएपछि स्वतः मुद्रास्फीतिमा दबाब पर्ने अमेरिकी केन्द्रीय बैंक ‘फेड’ का अध्यक्ष जेरोम पावेलले नै स्वीकारेका छन् । पावेलले भनेका छन् ‘अतिरिक्त कर अनुमानभन्दा बढी नै हो, यसले तत्कालै मुद्रास्फीतिको जोखिम बढाएको छ ।’

मूल्यवृद्धिको जोखिम हुँदा फेडले समेत ब्याजदर कटौतीको क्रम रोक्ने सम्भावना बढेको छ । मेहता इक्विटजका उपाध्यक्ष राहुल कलन्त्रीले सुनको प्रमुख समर्थन मूल्य प्रतिऔंस २ हजार ९ सय ७८ डलरदेखि ३ हजारसम्म रहेको औंल्याएका छन् । त्योभन्दा तलको समर्थन मूल्य अनुमान गर्नुपर्ने बेला नभएको उनले बताए ।

उनको प्राविधिक अनुमानलाई आधार मान्दा सुनको भाउ अब धेरै घट्ने छैन । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३० डलर हाराहारीमा कारोबार भइरहेको छ । यस दिन कारोबार क्रममा सुनको भाउ प्रतिऔंस २ हजार ९ सय ७८ मा सम्हालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  2. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  3. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  4. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  5. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  6. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  7. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  8. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  9. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  10. १० लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  11. ११ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  12. १२ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  13. १३ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  14. १४ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  15. १५ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?