नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनपछि निजी क्षेत्र गम्भीर क्षतिबाट बिस्तारै उक्लने प्रयासमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय आर्थिक संवाद २.०’ कार्यक्रममा बोल्दै ढकालले भने,“जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ। विगतको तुलनामा यसपटकको आन्दोलनले निजी क्षेत्रमा बढी क्षति पुर्याएको छ।”
उनका अनुसार आन्दोलनले उद्योग, व्यापार र लगानी वातावरणमा ठूलो असर पारेको छ। उनले भने, “लगानीका लागि अहिले पनि सापटी मागेर जसोतसो लगानी भइरहेको छ। जेनजी आन्दोलनले हामीलाई आफैंलाई पुनः आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।”ढकालले निजी क्षेत्र बारम्बार प्रहारको सामना गर्न बाध्य भए पनि अझै दरिलो र जिम्मेवार बनेको बताए। उनले भने “निजी क्षेत्रको उद्देश्य सेवा दिएर नाफा कमाउने हो। तर यसको फरक बुझाइका कारण बारम्बार निजी क्षेत्रमा प्रहार हुने गरेको छ। तर पनि हामी दरिलो र जिम्मेवार छौं, कहाँ चुक्यौं भनेर आत्मसमीक्षा गर्दैछौं।”
ढकालले आन्दोलनका क्रममा भएको लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही गर्नुपर्ने आवश्यकता औंल्याए। “जेनजी आन्दोलनमा हिंसा र क्षति गर्नेहरूलाई सरकारले कारबाही गरेर अगाडि बढ्नुपर्छ। निजी क्षेत्रको पीडा र भावना सरकारले बुझ्ने अपेक्षा राखेका छौं,” उनले थपे। ढकालका अनुसार, अबको प्राथमिकता निजी क्षेत्रको पुनर्स्थापना, लगानीको विश्वास पुनर्जीवन र आर्थिक गतिशीलता कायम गर्नु हो। राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा विभिन्न उद्योगपति, अर्थशास्त्री र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस