२०८३, आश्विन ९ गते

गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी

मंगलवार , पौष ८, २०८२

गोरखा जिल्लामा बूढीगण्डकी नदीमा आधारित दुई ठूला जलविद्युत् आयोजना निर्माण हुने तयारी अन्तिम चरणमा पुगेको छ । बूढीगण्डकी ‘क’ र बूढीगण्डकी ‘ख’ नाम दिइएका यी आयोजनाबाट कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाका इञ्जिनियर दुर्गेश मगरका अनुसार १०३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो । बूढीगण्डकी ‘क’ आयोजना निर्माणका लागि अनुमानित लागत ३१ अर्ब ३२ करोड रुपैयाँ र बूढीगण्डकी ‘ख’ आयोजनाका लागि ५६ अर्ब ९९ करोड रुपैयाँ लाग्ने बताइएको छ । बूढीगण्डकी ‘क’ आयोजना अन्तर्गत धार्चे गाउँपालिका–३ स्थित लुस्याङमा बाँध निर्माण गरी करिब चार किलोमिटर सुरुङमार्फत पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गरिनेछ । रन अफ द रिभर प्रविधिमा आधारित यस आयोजनामा १११ मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिने योजना छ । यहाँ उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर लामो ट्रान्समिसन लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ । यस्तै, २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजनाको बाँध धार्चे गाउँपालिका–७ खानीबेँसीमा निर्माण गरिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर लामो सुरुङ हुँदै सोतीस्थित विद्युत् गृहमा पानी पु¥याइनेछ । यस आयोजनामा १९७ दशमलव ९७ मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले जानकारी दिए । दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तथा विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । भूकम्पअघि गरिएको सर्वेक्षणलाई आधार मानी भूकम्पपछि आएको भौगोलिक परिवर्तनको मूल्याङ्कन गर्दै अन्तिम सर्वेक्षणको काम भइरहेको र आगामी सुक्खायामबाट निर्माण कार्य सुरु गर्ने तयारी रहेको उहाँले बताए । यी दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् गोरखाबाट करिब १८ दशमलव ५ किलोमिटर टाढा धादिङ जिल्लाको लापा स्थित सबस्टेशनमा जोडिनेछ । आयोजनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय विद्युत् आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!