२०८३, श्रावण २३ गते

एआईले मानवीय गल्तीहरूको जिम्मेवारी लिन सक्दैन

बुधवार , पौष ३०, २०८२

मेरो फ्रेन्च भाषाको ज्ञान अहिले एउटा असहज अवस्थामा पुगेको छ । मेरो क्षमता फ्रेन्च टेलिभिजन बिना सबटाइटल हेर्न पुग्ने स्तरको छैन, तर खराब अनुवाद देखेर झर्किन सक्ने तहसम्म भने पुगेको छ। यस्ता त्रुटिहरू कार्यक्रम सकिएपछि पनि दिमागमा घुमिरहन्छन्। उदाहरणका लागि, अमेजनको उत्कृष्ट सिरिज Baron Noir का सबटाइटलमा गरिएका केही छनोटहरू यस्तो लाग्छ, या त ती अत्यन्तै पुरानो कम्प्युटरले गरेका हुन् वा अत्यन्तै अल्छी मानिसले। तर केही अनुवाद त्यस्ता पनि हुन्छन्, जसले झनै अलमल्याउँछन् । खराब भएकाले होइन, कठिन भएकाले। चर्चित हास्य सिरिज Call My Agent! मा एउटा दृश्य छ, जहाँ एजेन्सीकी रिसेप्सनिस्ट सोफियाले एक एजेन्टलाई “tu” भन्ने अनौपचारिक सम्बोधन प्रयोग गरौँ कि भनेर सोध्छिन्। यो वाक्यको अंग्रेजीमा शाब्दिक अनुवाद सम्भव छैन। त्यसैले अनुवादकले “Shall we become friends?” भनेर टार्न खोजेका छन्, जुन अस्पष्ट र अलि खपिनसक्नु लाग्छ। तर यस्तो अवस्थामा उनीहरूले अझ राम्रो के गर्न सक्थे, भन्न पनि गाह्रो छ। जब एउटा वाक्यको अर्को भाषामा ठ्याक्कै समकक्ष हुँदैन, त्यहाँ कुनै पनि समाधान पूर्ण हुँदैन। वास्तवमा, अनुवादमा कहिलेकाहीँ अपूर्ण छनोट गर्नैपर्छ, किनकि दुई भाषा कहिल्यै पूर्ण रूपमा समान हुँदैनन्। नजिकका भाषाबीच पनि अर्थका सूक्ष्म भिन्नता हुन्छन् । जस्तै “quite nice” भन्ने वाक्य ब्रिटिशले बोलेको हो कि अमेरिकीले, त्यसले फरक अर्थ दिन्छ; वा सिड्नी र न्युयोर्कको कार्यस्थलमा कुन गाली स्वीकार्य हुन्छ, त्यसमा पनि सांस्कृतिक भिन्नता देखिन्छ। यही अपूर्ण छनोटको समस्या एआई र नैतिकताको बहस बुझ्न उपयोगी उदाहरण हो। हामीलाई अझै थाहा छैन कृत्रिम बौद्धिकता कति “स्मार्ट” बन्छ, वा भाषा मोडेलहरूले कति हदसम्म मानवीय श्रमलाई विस्थापन गर्न सक्छन्। तर अनुवादको क्षेत्रमा भने मेशिनले पहिल्यै स्थिर र भरपर्दो काम गरिरहेको छ। चाहने हो भने, आजकै दिनमा हामी धेरै मानवीय अनुवादकबिनै पनि काम चलाउन सक्छौँ। तर सूक्ष्म भिन्नता र जटिल निर्णयले देखाउँछन् कि हामीले त्यसो गर्नुहुँदैन। समस्या मेशिनले निर्णय गर्न नसक्ने होइन । समस्या के हो भने ती निर्णयका परिणाम हुन्छन् र ती परिणामको जिम्मेवारी कसैले त लिनैपर्छ। मेशिनले धेरै काम गर्न सक्छ, तर उसले कहिल्यै जिम्मेवारी लिन सक्दैन। फ्रेन्च राजनीतिक सिरिजको मजा बिगार्ने खराब सबटाइटल एउटा सानो कुरा हो। तर यदि कुरा महत्त्वपूर्ण आर्थिक सम्झौताको अनुवादको हो भने के हुन्छ? यस्ता निर्णयमा कसैले जिम्मा लिनैपर्छ भन्ने अपेक्षा मानिसको जायज अधिकार हो। कुनै कम्प्युटरले गर्न सक्छ भन्दैमा कम्पनी वा राज्यले “हामीले यो जटिल निर्णय मेशिनलाई सुम्प्यौँ” भनेर हात झिक्न मिल्दैन। कठिन प्राविधिक काम मेशिनलाई सुम्पिन सकिएला, तर अन्तिम निर्णय (कुन शब्द प्रयोग गर्ने, के निर्णय लिने)सानो होस् वा ठूलो, त्यो सधैं मानिसले नै लिनुपर्छ। नत्र मानिससँग गुनासो गर्ने, क्षतिपूर्ति खोज्ने कोही रहँदैन, र त्यो उत्तरदायित्व र व्यक्तिगत नियन्त्रणका लागि घातक हुन्छ। यसको अझै गम्भीर उदाहरण अहिले सामाजिक सञ्जाल एक्स (X) मा देखिएको छ, जहाँ त्यहाँको एआई च्याटबोट ‘ग्रोक’ ले प्रयोगकर्ताको आग्रहमा वास्तविक व्यक्तिहरू, बालबालिकासमेत, कपडा उतारेको जस्तो चित्र बनाउन सहमति दिएको छ। तर यसरी मानिसको अपमान गर्ने “ग्रोक” नभइ यी अनुरोध गर्ने व्यक्ति र ती सामग्री होस्ट गर्ने प्लेटफर्म नै जिम्मेवार हुन्। यी सबै निर्णय व्यक्तिले गरेका हुन्, र त्यसरी नै हेर्नुपर्छ। हामी एक्ससँग यस्तो रोक्न अपेक्षा गर्न सक्छौँ, र बेलायती सरकारजस्तै राज्यले हस्तक्षेप गर्नुपर्छ भन्ने माग पनि जायज छ। अनुवादकले च्याटजिपिटी वा अन्य सफ्टवेयर प्रयोग गरे पनि, अन्तिम खराब अनुवादको जिम्मा उसैको हुन्छ, जसले काममा हस्ताक्षर गरेको छ। यो सानो निर्णयमा होस् (कुन भाषामा नपाइने भाव कसरी अर्को भाषामा व्यक्त गर्ने) वा ठूलो र गैरकानुनी कार्यमा, जस्तै कसैको सहमति बिना यौनिकृत तस्बिर बनाउने काममा, एउटै सत्य लागू हुन्छ: मेशिनले नैतिक जिम्मेवारी लिन सक्दैन। अन्तिममा मान्छेले नै परिणामको जिम्मा लिनुपर्छ। अनि हामी सबैले कम्तीमा यति विश्वास त गर्न पाउनुपर्छ । आवश्यक परे, धन्यवाद दिन वा गुनासो राख्न हामी कुनै वास्तविक मानिससम्म पुग्न सक्छौँ। (-फाइनान्सियल टाइम्सबाट अनुवाद।)

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!