२०८३, श्रावण २३ गते

नाइमा मोबिलिटी एक्स्पो प्रविधि, पूर्वाधार र भविष्यको यातायातको साझा मञ्च : आकाश गोल्छा

नाइमा मोबिलिटी एक्स्पो केवल अटो शो होइन। विद्युतीय सवारी, नयाँ प्रविधि, वित्तीय पहुँच, पूर्वाधार विकास र दक्ष जनशक्ति निर्माणलाई एउटै मञ्चमा जोड्दै नेपालको अटोमोबाइल उद्योगलाई नयाँ चरणमा प्रवेश गराउने तयारी हो ।

सोमवार , श्रावण १८, २०८३

नेपालको अटोमोबाइल उद्योग तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, प्रविधिको तीव्र विकास, उपभोक्ताको बदलिँदो रोजाइ र सरकारी नीतिगत परिवर्तनले यो क्षेत्रलाई नयाँ दिशातर्फ डोर्‍याइरहेको छ। यही परिवर्तनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२६ आयोजना गर्दैछ। नाइमाका रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छाका अनुसार यो एक्स्पो केवल गाडी प्रदर्शनी होइन, नेपालको भविष्यको मोबिलिटी प्रणाली, प्रविधि र अटोमोबाइल उद्योगको दिशाबारे बहस गर्ने साझा मञ्च हो।

गत वर्ष पहिलो पटक आयोजना गरिएको एक्स्पोबाट प्राप्त अनुभवले यस वर्षको संस्करणलाई अझ व्यवस्थित र उपभोक्तामैत्री बनाउन ठूलो सहयोग पुगेको गोल्छा बताउँछन्। पहिलो संस्करणमा सहभागी आगन्तुक, प्रदर्शक तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा पार्किङ व्यवस्थापन, फुड कोर्ट, स्टलको संरचना, आगन्तुकको सहज आवागमन, हावाप्रवाहको व्यवस्थापनदेखि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि ह्विलचेयरमै सम्पूर्ण प्रदर्शनी अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ। उनका अनुसार कुनै पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीमा आगन्तुकको अनुभव सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले यस वर्ष त्यसैमा विशेष ध्यान दिइएको छ।

गोल्छाका अनुसार नाइमा मोबिलिटी एक्स्पो कुनै एक कम्पनी वा ब्रान्डको प्रचार गर्ने थलो होइन। यहाँ पेट्रोलियम, विद्युतीय, हाइब्रिड, व्यावसायिक सवारी, पिकअप, भ्यानलगायत सबै प्रकारका सवारीसाधनका उत्पादक तथा आधिकारिक वितरकले समान अवसर पाउनेछन्। “हामी कुनै कम्पनीलाई प्राथमिकता दिने होइनौं, सबै प्रदर्शक हाम्रो लागि उत्तिकै महत्वपूर्ण छन्। एउटै स्थानमा विभिन्न ब्रान्ड, नयाँ प्रविधि र नयाँ मोडल अवलोकन गर्ने अवसर उपभोक्तालाई उपलब्ध गराउनु नै एक्स्पोको मूल उद्देश्य हो,” उनी भन्छन्। यस वर्ष एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन प्रदर्शन हुनेछन् भने करिब पाँच नयाँ अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली बजारमा पहिलो पटक आफ्नो उपस्थिति जनाउने तयारी गरेका छन्।

नेपालको अटोमोबाइल बजार अब केवल गाडी बिक्रीको बजार रहेन। यो हरित ऊर्जा, स्मार्ट प्रविधि, वित्तीय नवप्रवर्तन र दिगो पूर्वाधारसँग जोडिएको नयाँ अर्थतन्त्रको आधार बनिरहेको छ।

उनको दृष्टिमा अटोमोबाइल उद्योगको भविष्य केवल सवारी बिक्रीमा सीमित छैन। त्यसैले यस वर्षको एक्स्पोमा बैंकिङ तथा अटो फाइनान्स, ब्याट्री प्रविधि, सडक सुरक्षा, दुर्घटना व्यवस्थापन, प्राथमिक उपचार, मेकानिक तालिम, प्राविधिक शिक्षा तथा नीति निर्माणसँग सम्बन्धित विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ। ट्राफिक प्रहरी, विद्यार्थी, प्राविधिक, अटो व्यवसायी, नीति निर्माता तथा सर्वसाधारण सबैलाई उपयोगी हुने गरी कार्यक्रम तयार गरिएको उनको भनाइ छ। “यो केवल गाडी किन्ने वा हेर्ने ठाउँ होइन, नयाँ प्रविधि, नयाँ ज्ञान र भविष्यको यातायात प्रणाली बुझ्ने अवसर पनि हो,” गोल्छा बताउँछन्।

नेपालमा विद्युतीय सवारीसाधनको विस्तारसँगै चार्जिङ पूर्वाधारबारे उठ्ने प्रश्नलाई पनि गोल्छाले स्वाभाविक मान्छन्। तर, अहिलेको अवस्था केही वर्षअघिको भन्दा धेरै फरक रहेको उनको भनाइ छ। नयाँ पुस्ताका विद्युतीय सवारीमा ब्याट्री क्षमता उल्लेखनीय रूपमा बढेकाले धेरै मोडलले काठमाडौं–पोखरा–काठमाडौं एकै चार्जमा यात्रा गर्न सक्ने अवस्था आएको उनी बताउँछन्। साथै, जहाँ सवारी पुग्छ, त्यहीँ चार्जिङ पूर्वाधार पनि विस्तार हुँदै गएको उनको अनुभव छ। होटल, रिसोर्ट र रेस्टुरेन्टहरूले ग्राहक आकर्षित गर्न चार्जिङ स्टेशन स्थापना गर्न थालेकाले भविष्यमा चार्जिङ सुविधा अझ सहज हुने उनको विश्वास छ। यद्यपि, दसैं–तिहारजस्ता चाडपर्वमा एकैपटक धेरै सवारी सञ्चालन हुँदा केही समय दबाब पर्न सक्ने उनी स्वीकार गर्छन्।

आकाश गोल्छाले नेपालको अटोमोबाइल बजार विस्तारका लागि वित्तीय पहुँच पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्छन्। अहिले सवारी खरिदका लागि बैंकहरूले उपलब्ध गराउने कर्जाको सीमा अझै सीमित रहेको भन्दै उनले अटो फाइनान्सिङलाई थप सहज बनाउनुपर्ने आवश्यकता औंल्याउँछन्। उनका अनुसार गाडी कर्जा बैंकको पैसा लामो समयसम्म निष्क्रिय राख्ने क्षेत्र होइन, किनकि किस्तामार्फत नियमित रूपमा रकम बैंकमा फिर्ता आउने व्यवस्था हुन्छ। अटो फाइनान्सिङ विस्तार हुँदा सवारी बिक्री बढ्ने, सरकारको राजस्व वृद्धि हुने, बैंकको व्यवसाय विस्तार हुने र समग्र अर्थतन्त्र चलायमान हुने उनको तर्क छ।

 नाइमा मोबिलिटी एक्स्पो केवल गाडीको प्रदर्शनी मात्र होइन, यो भविष्यको नेपालको मोबिलिटी, प्रविधि र आर्थिक सम्भावनाको झलक हो।

पूर्वाधार विकासलाई गोल्छाले नेपालको अटोमोबाइल उद्योगको दीर्घकालीन भविष्यसँग प्रत्यक्ष जोड्छन्। राम्रो सडक बनेमा इन्धन खपत घट्ने, सवारी सञ्चालन खर्च कम हुने, ढुवानी सहज हुने र पर्यटन क्षेत्रले समेत ठूलो लाभ लिने उनको भनाइ छ। काठमाडौं–पोखरा, पूर्व–पश्चिम राजमार्गलगायत प्रमुख सडक मार्गको स्तरोन्नतिले अटोमोबाइल उद्योग मात्र होइन, समग्र अर्थतन्त्रलाई गति दिने उनी बताउँछन्। “सडक राम्रो हुँदा स्थिर गतिमा सवारी सञ्चालन गर्न सकिन्छ, जसले इन्धन बचतदेखि सवारीको आयुसम्ममा सकारात्मक प्रभाव पार्छ,” उनी भन्छन्।

व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि नाइमाले प्राथमिकतामा राखेको गोल्छा बताउँछन्। प्राविधिक जनशक्ति उत्पादन, कलेजहरूसँग सहकार्य, ट्राफिक प्रहरीलाई तालिम, सडक सुरक्षा अभियान तथा अटोमोबाइल क्षेत्रमा करियर विकासका कार्यक्रमलाई नाइमाले निरन्तर अघि बढाइरहेको छ। उनका अनुसार उद्योगको दीर्घकालीन विकासका लागि दक्ष जनशक्ति उत्पादन र प्रविधिमैत्री वातावरण निर्माण अपरिहार्य छ।

आकाश गोल्छाको दृष्टिमा नेपाल अहिले अटोमोबाइल उद्योगको संक्रमणकालीन मोडमा उभिएको छ। विद्युतीय सवारी, स्मार्ट प्रविधि, हरित ऊर्जा, आधुनिक पूर्वाधार र वित्तीय नवप्रवर्तनले आगामी दशकमा नेपालको यातायात प्रणालीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने विश्वास उनी व्यक्त गर्छन्। यही परिवर्तनलाई आम नागरिक, उद्योग, सरकार र नीति निर्मातासम्म पुर्‍याउने उद्देश्यका साथ नाइमा मोबिलिटी एक्स्पो आयोजना गरिएको उनको भनाइ छ। “यो केवल गाडीको प्रदर्शनी होइन,” उनी अन्त्यमा भन्छन्, “यो भविष्यको नेपालको मोबिलिटी, प्रविधि र आर्थिक सम्भावनाको झलक हो।”
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!