२०८३, श्रावण २३ गते

करदाता उपहारको विजेताको घोषणा गरिदैँ : १५ जनालाई दैनिक एक–एक लाख, एक जनालाई १० लाख रुपैयाँ बम्पर पुरस्कार

शुक्रवार , श्रावण २२, २०८३

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। विभागले शुक्रबार पहिलो पटक उपहार विजेताको घोषणा गर्दै कार्यक्रम औपचारिक रूपमा सुरु गर्न लागेको हो।

कार्यक्रमअन्तर्गत साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्ये हरेक दिन एक जनाका दरले १५ जना ले करकट्टीपछि एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै सोही अवधिमा खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार प्रदान गरिनेछ। बम्पर पुरस्कारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ।

यो कार्यक्रम आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका करदाता प्रोत्साहन योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको हो। यसको मुख्य उद्देश्य उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्नु, कर प्रणालीलाई पारदर्शी बनाउनु तथा राजस्व चुहावट नियन्त्रण गर्नु हो।

विभागले जारी गरेको कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार विजेताको घोषणा गरिनेछ।

कसरी सहभागी हुने ?

बैंक वा डिजिटल वालेटको क्युआर कोडमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः यो कार्यक्रममा सहभागी हुनेछन्। तर, पुरस्कार दाबी गर्न खरिद गरेको बिल सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने खरिदपछि अनिवार्य रूपमा प्यान वा भ्याट बिल लिनुपर्नेछ। त्यसपछि उक्त बिल आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी सहभागिता कुपन प्राप्त गरेपछि मात्रै उपहार कार्यक्रममा सहभागी हुन सकिने व्यवस्था गरिएको छ।

विभागका अनुसार यो कार्यक्रमले उपभोक्तामा बिल लिने संस्कारको विकास गर्नुका साथै व्यवसायीलाई वास्तविक कारोबार अभिलेखीकरण गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। यसबाट करको दायरा विस्तार हुनुका साथै राजस्व संकलनमा पनि सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!