स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय अब काठमाडौंको बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट सञ्चालनमा ल्याएको छ।
काठमाडौं महानगरपालिका–३, बालुवाटारमा निर्माण गरिएको बैंकको नयाँ केन्द्रीय कार्यालयको बुधबार प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच उद्घाटन गरेका हुन्। यससँगै लामो समयदेखि काठमाडौंको लाजिम्पाटबाट सञ्चालन हुँदै आएको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको छ।
वालिङबाट पोखरा हुँदै काठमाडौं
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक वित्तीय कारोबार सुरु गरेको थियो। बैंकको विस्तारसँगै २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरिएको थियो।
राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि बैंकले २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा आफ्नो केन्द्रीय कार्यालय सारेको थियो। अब आफ्नै स्वामित्वको भवन निर्माणसँगै बैंकले बालुवाटारबाट केन्द्रीय कार्यालय सञ्चालन सुरु गरेको छ। नयाँ केन्द्रीय कार्यालयको उद्घाटनसँगै कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा पनि गरिएको थियो।
आफ्नै भवनसँगै नयाँ अध्याय
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालन हुनु बैंकको संस्थागत यात्रामा नयाँ अध्याय भएको बताए।
उनले बैंकको व्यावसायिक सफलतामा लाखौं ग्राहक, हजारौं शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। संस्थागत सुशासनलाई बैंकको सफलताको प्रमुख आधारका रूपमा समेत उनले औँल्याए।
कार्यक्रमको समापनमा बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई आगामी दिनमा थप सशक्त बनाउने बताए।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस