नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्र तथा बीमासम्बन्धी कसूरमा फरार रहेका माइक्रो इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित चार जना सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ निवासी ४२ वर्षीय सुभाष पौडेल, ललितपुर महानगरपालिका-२ निवासी ४१ वर्षीया सुनिता महर्जन, काठमाडौं महानगरपालिका-१६ निवासी ४५ वर्षीय अनुप मालाकार र काभ्रेको भुम्लु गाउँपालिका-८ निवासी ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।
पौडेल हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सञ्चालक सदस्य हुन्। महर्जन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकी सञ्चालक सदस्य हुन् भने मालाकार र श्रेष्ठ नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडसँग आबद्ध सञ्चालक सदस्य रहेको सीआईबीले जनाएको छ।
उनीहरूमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतका कसूरमा संलग्न रहेको आरोप छ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सीआईबीले घटनामाथि अनुसन्धान अघि बढाएको हो। सोही अनुसन्धानका क्रममा फरार रहेका चारै जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
प्रहरीले उनीहरूमाथिको अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस