२०८३, भाद्र १० गते

images

सेयर बजारबारे गगन थापाले के भने ?

सोमवार , भाद्र ८, २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि सेयर बजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार : आर्थिक लगानीको आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजारमा सुधार आउने व्यापक अपेक्षा रहे पनि त्यसअनुसार बजार अघि बढ्न नसकेको बताएका हुन्।

'पुँजीबजारको सन्दर्भमा अहिलेको चुनावपछि सबैभन्दा राम्रोसँग जाला भनेर अनुमान गरिएको थियो। सबैमा अत्यन्तै उत्साह र अपेक्षा पनि थियो,' उनले भने, 'तर दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन।'

थापाले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्नुपर्ने बताए। बजारमा देखिएका समस्या के हुन्, तिनका कारण के हुन् र तत्काल सुधार गर्न सकिने विषय कुन–कुन हुन् भन्नेबारे गम्भीर बहस आवश्यक रहेको उनको भनाइ छ।

थापाले नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेकाले संसदमा पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। 'हामी अहिले राज्यको प्रतिपक्षको जिम्मेवारीमा छौँ। संसदमा हाम्रा केही जिम्मेवारी छन्। ती विषयलाई कसरी उठाउन सक्छौँ भन्नेमा छलफल गरौँ भन्ने उद्देश्य हो,' उनले भने।

उनका अनुसार पुँजीबजारमा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुका साथै नीतिगत सुधारका विषयलाई संसदमार्फत प्रभावकारी रूपमा उठाउन कांग्रेसका सांसदहरूलाई आवश्यक तयारी गराउनुपर्नेछ।

थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिन कार्यक्रम आयोजना गरिएको बताए। उनले पुँजीबजारलाई केवल सेयर किनबेचको क्षेत्रका रूपमा नभई आर्थिक लगानी र पुँजी परिचालनको महत्वपूर्ण आधारका रूपमा बुझेर पार्टीले यसबारे स्पष्ट तथा व्यापक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए। कांग्रेसले आगामी दिनमा पुँजीबजारसम्बन्धी नीतिगत विषयमा थप अध्ययन, बहस र छलफल गर्दै जाने उनको भनाइ थियो। 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!