२०८३, भाद्र १० गते

images

आजको सेयर बजार: नेप्सेमा लगातार गिरावट, कारोबार रकम ४ अर्ब नाघ्यो

मंगलवार , भाद्र ९, २०८३

साताको दोस्रो कारोबार दिन पनि नेपाली सेयर बजारमा गिरावट आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.५० अंक, फ्लोट इन्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले घटेका छन्। परिसूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन ३५७ वटा कम्पनीका १ करोड ४४ हजार कित्ता सेयर ४६ हजार ५८९ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन्।

सर्वोत्तम पेन्ट्समा फेरि सकारात्मक सर्किट

मंगलबार पनि सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसामा पुगेको छ। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब १५ प्रतिशत र नाडेप लघुवित्त वित्तीय संस्थाको करिब ६ प्रतिशतले बढेको छ।

यता, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १०.०७ प्रतिशतले घटेर कारोबारमा सबैभन्दा ठूलो गिरावट आएको छ।

कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ९० करोड ७ लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

११ उपसमूह घटे, दुईमा मात्रै सुधार

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक घटेको छ भने दुईवटामा सामान्य सुधार आएको छ। विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ।

लगातार दोस्रो दिन नेप्से घटे पनि कारोबार रकम ४ अर्ब नाघ्नुले बजारमा कारोबार गतिविधि भने कमजोर नभएको देखाएको छ। परिसूचकको गिरावटसँगै बढ्दो कारोबार रकमले आगामी दिनमा बजारले लिने दिशातर्फ लगानीकर्ताको ध्यान केन्द्रित भएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!