रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पनि प्रभावित क्षेत्रको निरीक्षण टोलीमा छन्। उनीहरू बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्।
संसद् र राजनीतिक गतिविधिका बीच प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यको प्रत्यक्ष अनुगमन र सहजीकरणका लागि प्रभावित क्षेत्रमा पुगेका हुन्। यसअघि उनले उच्चस्तरीय बैठक आह्वान गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
समय सीमित भएकाले प्रधानमन्त्रीले बिहीबार मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सुरक्षा निकायसँग क्षतिको अवस्था, राहत वितरण र पुनर्निर्माणका विषयमा छलफल गर्नेछन्।
प्रधानमन्त्रीले बाढीका कारण अवरुद्ध सडक, पुल तथा विद्युत्जस्ता अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस