नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ। एमालेको जारी केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
पार्टीको निर्णयअनुसार भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा राखिएको छ। पूर्वराष्ट्रपति भण्डारी लामो समय एमालेको सक्रिय राजनीतिमा रहेकी थिइन्।
७ नेता स्थायी कमिटीमा
एमाले केन्द्रीय कमिटी बैठकले केही नेतालाई स्थायी कमिटी सदस्यसमेत बनाएको छ। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्बाहाम्फे, थममाया थापा र बिमला घिमिरेलाई चयन गरिएको छ।
पोखरेल ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए। ज्ञवाली महासचिव पदका लागि उम्मेदवार बन्न नपाएपछि केन्द्रीय सदस्यमा मात्र निर्वाचित भएका थिए। घिमिरे पूर्वसभामुख हुन्।
३३ जना केन्द्रीय सदस्य मनोनीत
एमालेले विधानमा रहेको १० प्रतिशत मनोनयनसम्बन्धी व्यवस्थाअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेमा अन्य पार्टीबाट एमालेमा आएका १३ जना पनि छन्।
पार्टीले मनोनीत गरेका केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, कौशिला खत्री, सुरेन्द्र उदासलगायत छन्।
अन्य पार्टीबाट आएका १३ जना पनि केन्द्रीय सदस्य
अन्य राजनीतिक दलबाट एमालेमा आएका १३ जनालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। यस समूहमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्टलगायत रहेका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकबाट भएको यो निर्णयसँगै पार्टीको केन्द्रीय संगठनमा नयाँ जिम्मेवारी र वरीयता संरचना थपिएको छ।
प्रतिक्रिया दिनुहोस