रसुवामा आएको विनाशकारी बाढीले दसैँ–तिहारको बजारलाई लक्षित गर्दै चीनबाट आयात गरिएका ७८३ वटा नयाँ गाडी बगाएको छ। चीनबाट सवारीसाधन आयात हुने प्रमुख नाका रसुवागढी क्षेत्रमा आएको बाढीले गाडी पार्किङ तथा आयातसँग सम्बन्धित संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
बाढीबाट सबैभन्दा बढी क्षति बीवाईडीका गाडीमा भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका अनुसार कम्पनीका २५० वटा नयाँ गाडी बाढीले बगाएको छ।
त्यस्तै, एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सका १८० वटा गाडी बाढीमा परेका छन्। यस्तै ओमोडाका ६५, फोटोनका ६० र एमएडब्लू वृद्धिका ८० वटा गाडीमा बाढीले क्षति पुर्याएको छ।
यसैगरी, शशीला मोटर्सका ३३ वटा गाडी बाढीले बगाएको जनाइएको छ। बीएआइसी, आर्कफक्स, स्काइवेल र म्याक्ससलगायत अन्य ब्रान्डका करिब ४० वटा गाडीसमेत बाढीमा परेका छन्।
दसैँ तथा तिहारजस्ता प्रमुख चाडपर्वमा बढ्ने सवारीसाधनको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले ठूलो संख्यामा नयाँ गाडी चीनबाट आयात गरेका थिए। तर, रसुवामा आएको विनाशकारी बाढीले आयात गरी पार्किङमा राखिएका गाडीमा ठूलो क्षति पुर्याएपछि अटोमोबाइल व्यवसायीलाई ठूलो आर्थिक झट्का लागेको छ।
बाढीले सवारीसाधनसँगै पार्किङ क्षेत्र, सडक तथा आयात व्यवस्थापनसँग सम्बन्धित पूर्वाधारमा समेत क्षति पुर्याएको छ। यसले रसुवागढी नाका हुँदै हुने सवारीसाधनको आपूर्ति शृंखलामा असर पार्न सक्ने देखिएको छ।
चाडपर्वको बिक्रीलाई लक्षित गरी भित्र्याइएका गाडी नै बाढीमा परेपछि बजारमा सवारीसाधनको उपलब्धता र आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ। यद्यपि, बाढीबाट भएको वास्तविक आर्थिक क्षति तथा सवारी आयातमा पर्ने दीर्घकालीन प्रभावको विस्तृत विवरण भने थप मूल्यांकनपछि मात्रै यकिन हुनेछ।
प्रतिक्रिया दिनुहोस