काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ आज चौथो दिनमा प्रवेश गरेको छ। भदौ ९ गतेदेखि सुरु भएको अटो शोमा नयाँ सवारीसाधन, विशेषगरी विद्युतीय गाडीप्रति अवलोकनकर्ता तथा ग्राहकको चासो बढ्दो छ।
तर, भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी–केरुङ नाका जोड्ने सडक तथा आसपासका संरचनामा ठूलो क्षति पुर्याएपछि चीनबाट आयात हुने सवारीसाधनको आपूर्तिलाई लिएर चिन्ता बढेको छ।
बाढीका कारण रसुवागढी नाकाबाट हुने सवारीसाधनको आयात ठप्प भए पनि अटोमोबाइल व्यवसायीहरूले वैकल्पिक नाका र मार्ग प्रयोग गरी नाडा अटो शोमा बुकिङ भएका गाडी दशैं–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन्।
कोरोला, तातोपानी र वीरगञ्जबाट आपूर्ति गर्ने तयारी
रसुवागढी नाका र त्यहाँसम्म पुग्ने सडक बाढीले क्षतिग्रस्त भएपछि व्यवसायीहरूले चीनबाट आयात हुने गाडी तातोपानी तथा कोरोला नाकाबाट ल्याउने तयारी थालेका छन्।
अहिले बजारको प्रमुख विद्युतीय सवारी ब्रान्ड बीवाइडीले कोरोला नाका हुँदै थप गाडी नेपाल ल्याउने तयारी गरेको छ। बाढीमा कम्पनीका ठूलो संख्यामा गाडीमा क्षति पुगे पनि वैकल्पिक मार्गमार्फत आपूर्तिलाई निरन्तरता दिने कम्पनीको तयारी छ।
बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकका प्रबन्धक आशिष शाक्यका अनुसार कम्पनीले विगतदेखि नै विभिन्न भन्सार नाका प्रयोग गर्दै आएकाले एउटा नाकामा समस्या आउँदा आपूर्ति पूर्ण रूपमा प्रभावित नहुने व्यवस्था मिलाइएको छ।
थाइल्यान्डबाट आउने दिपल गाडीमा असर नपर्ने
बजारमा लोकप्रिय अर्को विद्युतीय सवारी ब्रान्ड दिपलका गाडी थाइल्यान्डमा उत्पादन भएर भारत हुँदै नेपाल आउने गरेका छन्। एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दका अनुसार चाडपर्व लक्षित गाडी नेपाल आउने क्रममा रहेकाले रसुवागढी नाका बन्द भए पनि दिपलको आपूर्तिमा प्रत्यक्ष असर पर्ने छैन।
‘दिपलका गाडी थाइल्यान्डमा उत्पादन हुन्छन् र भारत हुँदै नेपाल आउने भएकाले नाडा अटो शोमा बुकिङ भएका सबै गाडी तिहारभित्र ग्राहकलाई उपलब्ध गराउँछौं,’ उनले भने।
बाढीले बगायो नामीका १५० गाडी
अटो शोमा विशेष चासोमा रहेको नामी भिगोको आपूर्तिका लागि पनि वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी गरिएको छ। एमएडब्लू समूहका कार्यकारी निर्देशक मिलनबाबु मल्लका अनुसार रसुवा भन्सार क्षेत्रमा कम्पनीका करिब १५० वटा नामी ब्रान्डका विद्युतीय गाडी बाढीले बगाएको छ।
‘अब नाडा अटो शोमा बुकिङ भएका तथा आगामी दिनमा बुकिङ हुने गाडी वैकल्पिक मार्ग प्रयोग गरेर नेपाल ल्याउनेछौं,’ उनले भने।
चीनबाट आउने अन्य ब्रान्ड पनि वैकल्पिक मार्गतर्फ
नेपालमा चीनबाट विभिन्न ब्रान्डका विद्युतीय तथा अन्य सवारीसाधन आयात गर्ने व्यवसायीहरू अहिले वैकल्पिक नाका र मार्ग प्रयोग गर्ने तयारीमा जुटेका छन्। सीजी मोटर्सले आयोन र रिडारा, जगदम्बा मोटर्सले प्रोटोन, प्यारामाउन्ट मोटर्सले एमजी र विलिङ तथा एसपीजी अटोमोबाइल्सले ओमोडा, जेको, चेरी क्यू र आइकार ब्रान्ड नेपाल भित्र्याउँदै आएका छन्।
त्यस्तै, भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सका सवारीसाधन, एलआरआर समूहले स्काइवेल र जिली तथा लक्ष्मी समूहले केई, बीएआइसी र आर्कफक्सलगायत ब्रान्ड चीनबाट आयात गर्दै आएको छ।
रसुवागढी नाका बन्द भएपछि यी कम्पनीले पनि वैकल्पिक नाका र मार्गबाट सवारीसाधन ल्याउने सम्भावनाबारे तयारी सुरु गरेका छन्।
बुकिङ प्रभावित नहुने व्यवसायीको विश्वास
बाढीले अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुर्याए पनि व्यवसायीहरूले नाडा अटो शोमा भएको गाडी बुकिङ प्रभावित हुन नदिने बताएका छन्। चाडपर्वको बजारलाई लक्षित गर्दै वैकल्पिक मार्गबाट सवारीसाधन आपूर्ति गरी दशैं–तिहारसम्म ग्राहकलाई गाडी उपलब्ध गराउने तयारी भइरहेको व्यवसायीहरूको भनाइ छ।
यसबीच कठिन परिस्थितिका बाबजुद पनि आर्थिक गतिविधिलाई चलायमान राख्ने उद्देश्यसहित नाडा अटो शो सञ्चालनलाई निरन्तरता दिइएको छ। नाडा अटो शो २०२६ भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस