रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका दुई बिरामीसँग अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मै क्यामेरासहित अन्तर्वार्ता लिइएको विषय विवादमा परेको छ। घटनाबारे प्रेस काउन्सिल नेपालले अध्ययन तथा अनुगमन थालेको जनाएको छ।
युट्युब च्यानल ‘इन्साइड द बंकर’बाट प्रसारित सामग्रीमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङमा फसेर भदौ १९ गते उद्धार गरिएका सञ्जय साह र कविर महर्जनसँग अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिइएको देखिन्छ।
सुरुङमा करिब नौ दिन फसेपछि उद्धार गरिएका दुवैलाई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका लागि राखिएको थियो। उद्धारपछि कविर महर्जनको अवस्था गम्भीर रहेको र उनलाई सघन उपचार आवश्यक परेको थियो भने सञ्जय साहको अवस्था स्थिर रहेको बताइएको थियो।
अन्तर्वार्तामा दुवैले सुरुङभित्र बिताएको समय र उद्धार हुँदाको अनुभव सुनाएका छन्। सामग्री सामाजिक सञ्जाल तथा युट्युबमा व्यापक रूपमा फैलिएको छ।
आईसीयूमा अन्तर्वार्ता कसरी सम्भव भयो?
घटनाको मुख्य प्रश्न भने आईसीयूजस्तो संवेदनशील स्वास्थ्य कक्षमा क्यामेरा र प्रस्तोतासहित प्रवेश गरी अन्तर्वार्ता लिन अनुमति कसले दियो भन्ने बनेको छ। अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता र उपचारको वातावरण संवेदनशील विषय मानिन्छ। यस्तो अवस्थामा बिरामीको अन्तर्वार्ता लिनुअघि सम्बन्धित बिरामीको सहमति, अस्पतालको अनुमति तथा पत्रकारिता आचारसंहिताले तोकेका सीमाको पालना भएको थियो कि थिएन भन्ने प्रश्न उठेको छ।
विशेषगरी गम्भीर अवस्थामा रहेका बिरामीसँग आईसीयूको बेडमै अन्तर्वार्ता लिइएको विषयले पत्रकारिता र स्वास्थ्य संवेदनशीलताको सीमाबारे बहस सिर्जना गरेको छ।
वैयक्तिक गोपनीयतासम्बन्धी कानुनी व्यवस्थाले व्यक्तिको स्वास्थ्य तथा शारीरिक अवस्थालाई संवेदनशील व्यक्तिगत विषयका रूपमा संरक्षण गरेको अवस्थामा उपचाररत व्यक्तिको दृश्य तथा स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्ने विषयमा थप सावधानी आवश्यक हुन्छ।
प्रेस काउन्सिलले थाल्यो अध्ययन
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस काउन्सिल नेपालले सम्बन्धित सामग्रीको अध्ययन तथा अनुगमन थालेको जनाएको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण वोहराले जारी गरेको विज्ञप्तिअनुसार ‘इन्साइड द बंकर’बाट प्रसारित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहेर अध्ययन भइरहेको छ। घटनाबारे थप जानकारी लिन सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिलमा समेत पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले सामग्रीको प्रकृति, अन्तर्वार्ता लिने प्रक्रिया, सम्बन्धित व्यक्तिको सहमति तथा पत्रकार आचारसंहितासँगको सम्बन्धलगायत विषय अध्ययन गर्ने देखिन्छ।
भ्युजभन्दा ठूलो प्रश्न व्यावसायिकताको
सामाजिक सञ्जालको विस्तारसँगै पत्रकारिता र डिजिटल कन्टेन्टबीचको सीमारेखा झन् संवेदनशील बन्दै गएको छ। विशेषगरी विपद्, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी घटनामा पीडित वा उपचाररत व्यक्तिको अनुभव प्रस्तुत गर्दा सार्वजनिक चासो र व्यक्तिको गोपनीयताबीच सन्तुलन कायम गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी हो।
बाढीबाट ज्यान जोगाएर लामो समयपछि उद्धार गरिएका व्यक्तिको अनुभव सार्वजनिक चासोको विषय हुन सक्छ। तर त्यसलाई प्रस्तुत गर्ने क्रममा बिरामीको स्वास्थ्य अवस्था, उपचारको आवश्यकता, व्यक्तिगत गोपनीयता र स्वेच्छिक सहमतिको सम्मान भएको थियो कि थिएन भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ।
त्यसैले यो घटना एउटा अन्तर्वार्ताको विवादमा मात्र सीमित छैन। यसले डिजिटल पत्रकारिता, अस्पतालमा सञ्चारकर्मीको पहुँच, बिरामीको गोपनीयता र पत्रकारिता आचारसंहिताको पालनासम्बन्धी व्यापक प्रश्न उठाएको छ।
अब प्रेस काउन्सिलको अध्ययनले आईसीयूमा अन्तर्वार्ता लिनुअघि आवश्यक अनुमति र सहमति लिइएको थियो कि थिएन, सामग्री प्रसारण गर्दा बिरामीको गोपनीयताको अधिकार उल्लंघन भयो कि भएन र सम्बन्धित सञ्चारकर्मीले पत्रकार आचारसंहिताको सीमा पालना गरे कि गरेनन् भन्ने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस