रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३० गते बिहान ८ बजेसम्म बाढीका कारण ४ हजार ८९ जना अझै बेपत्ता छन्।
बेपत्तामध्ये ३ हजार ४७९ जना नेपाली छन्। यसमा २ हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। त्यस्तै, ६१० जना विदेशी नागरिक बेपत्ता रहेको प्रहरीले जनाएको छ। विदेशीमध्ये २७२ पुरुष, ३८ महिला र १० जनाको अन्य विवरण रहेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जना पहिचान नखुलेका व्यक्ति रहेका छन्।
खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका क्रममा ६५ जना प्रहरीसमेत प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म १ हजार ३९९ वटा शव तथा आंशिक अङ्ग फेला परेका छन्। यसमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग रहेका छन्। फेला परेका शवमध्ये १०३ वटा आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार २३० वटा शव सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन बाँकी १ हजार ३५५ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।
शव तथा अङ्गको पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया पनि अघि बढाइएको छ। हालसम्म शवबाट १ हजार २८६ र बेपत्ताका आफन्तबाट १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डिएनए नमुना संकलन गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ८८० जनालाई हाल होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धारसँगै जनचेतना तथा सुरक्षा सम्बन्धी कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। प्रहरीले हालसम्म २०१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४७ हजार ९२६ जनालाई सहभागी गराएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस