कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (निम्बज) बीच ग्राहकलाई नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार निम्बजका अन्तर्राष्ट्रिय डेटा ईसिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ।
सहकार्यपछि कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय डेटा ईसिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकका लागि यी सेवा उपयोगी हुने बैंकले जनाएको छ।
ईसिम सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्ने, सिम परिवर्तन गर्ने वा विभिन्न नेटवर्क सेवा खोज्ने झन्झट कम हुने बैंकको भनाइ छ। त्यस्तै, आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
यस सेवाको अर्को विशेषता ग्राहकले ईसिम तथा आईडीपी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने सुविधा हो। यसले अन्तर्राष्ट्रिय सेवा प्रयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सेवा प्रक्रियालाई थप सहज र सुरक्षित बनाउने बैंकले जनाएको छ।
बैंकका अनुसार यसबाट ग्राहकको समय, लागत र श्रम बचत हुनुका साथै विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायका लागि आवश्यक अन्तर्राष्ट्रिय सेवा स्वदेशमै बसेर डिजिटल माध्यमबाट प्राप्त गर्न सहज हुनेछ। विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ।
प्रविधिमा आधारित आधुनिक बैंकिङ सेवामार्फत ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्दै आएको बैंकले यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकलाई समेत अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा पहुँच पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ। साथै, डिजिटल समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहकको समग्र बैंकिङ अनुभवलाई सहज र उत्कृष्ट बनाउने अपेक्षा बैंकले गरेको छ।

