निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटना बढ्दै जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडक, तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बन्द हुँदा पूर्वदेखि मध्य पहाडी क्षेत्रसम्मको सडक यातायात ठप्प भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार बिहीबारदेखि लगातारको वर्षाका कारण पहिरो खसेको हो। सडक बन्द भएपछि सयौं सवारीसाधन सडकमा रोकिएका छन्, र पहिरो पन्छाउने कार्य जारी छ।
पूर्वमा, धनकुटा–पाँचथर सिमानाको नावा खोलामा बाढी आएपछि धरान–धनकुटा–मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। खोलाले सडकको ठूलो भाग बगाउँदा वैकल्पिक मार्ग प्रयोग गर्न नसकिने अवस्था बनेको हो।
त्यसैगरी, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पहिरो र जमिन भासिँदा सडक पुनः बन्द भएको छ। गत असोजमा आएको बाढीपहिरोपछि अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको सो सडक फेरि अवरुद्ध भएपछि इलाम–झापा यातायात सम्पर्क विच्छेद भएको हो।
मोन्था चक्रवातको आंशिक प्रभावका कारण इलामसहित कोशी प्रदेशका पहाडी जिल्लामा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि नै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
त्यसैगरी, बीपी राजमार्ग पनि अवरुद्ध भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ। राजमार्गका चौकीडाँडा, नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो र लेदो खसेपछि सवारी आवागमन रोकिएको हो।
प्रहरीका अनुसार अवरोध हटाउने प्रयास भइरहे पनि निरन्तरको वर्षाले उपकरण सञ्चालन र मर्मत कार्यमा कठिनाइ भइरहेको छ।
स्थानीय प्रशासन र प्रहरीले नागरिकलाई आवश्यक नपरी यात्रा नगर्न, नदीकिनार र भिरालो क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म पूर्वी र मध्य पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना छ।

