नेपालले गत आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले बढेको हो।
आयात र निर्यात दुवै बढेसँगै गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ। विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष नेपालमा सबैभन्दा बढी १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यस्तै, सोयाबिन तेल तथा यसको कच्चा पदार्थको आयात १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख ९७ हजार रुपैयाँ बराबरको भएको छ।
निर्याततर्फ भने समीक्षा अवधिमा नेपालबाट १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख २७ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा यसको कच्चा पदार्थ निर्यात भएको छ। त्यस्तै, १२ अर्ब ६४ करोड ७८ लाख ८१ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
यस तथ्याङ्कले नेपालमा आयात–निर्यात दुवै बढेको देखाए पनि आयातको तुलनामा निर्यातको वृद्धि र परिमाण अझै कमजोर रहेको स्पष्ट हुन्छ। विशेषगरी सोयाबिन तेल तथा यसको कच्चा पदार्थ आयात र निर्यात दुवैतर्फ ठूलो हिस्सा ओगट्नुले नेपालको वैदेशिक व्यापार संरचनामाथि पनि प्रश्न उठाउने ठाउँ दिएको छ।
प्रतिक्रिया दिनुहोस