सरकारले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि, उपभोक्ताको विश्वास सुदृढीकरण तथा आयातमा निर्भरता घटाउने उद्देश्यसहित उद्योगी–व्यवसायीलाई नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त गर्न आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गुणस्तरीय स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्ने तयारीसमेत अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आइतबार मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशीलगायत विभागका अधिकारीहरूसँग भएको छलफलमा नेपालमै उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न उद्योगीहरूले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नु आवश्यक रहेको बताइन्।
उनले नेपाल गुणस्तर चिन्हले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गुणस्तर प्रमाणीकरण प्रक्रियालाई थप सहज बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्। उद्योगीलाई आवश्यक प्रोत्साहन उपलब्ध गराउँदै गुणस्तर चिन्ह प्राप्त गर्ने प्रक्रिया सरल र प्रभावकारी बनाइने उनले बताइन्।
मन्त्री यादवका अनुसार नेपाल गुणस्तर चिन्ह प्राप्त उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सहज हुने भएकाले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा यसले सकारात्मक योगदान पुर्याउनेछ। त्यसका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनले स्पष्ट पारिन्।
हाल नेपालमा उत्पादन हुने सिमेन्ट, डण्डी (रड), टायर लगायतका विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन्। पछिल्लो समय स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडले समेत नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको मन्त्रालयले जनाएको छ।
यद्यपि अझै धेरै उद्योग तथा उत्पादन नेपाल गुणस्तर चिन्हको दायराबाहिर रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गरी प्रमाणीकरण लिन मन्त्रालयले उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार नेपाल गुणस्तर चिन्हको व्यापक प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको भरोसा बढ्ने, नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने तथा आयात प्रतिस्थापनमार्फत स्वदेशी उद्योगको विकास र अर्थतन्त्रलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस