२०८३, श्रावण २३ गते

रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव

मंगलवार , श्रावण १२, २०८३

नेपालले लामो समयदेखि बन्द रहेका हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि रुससँग सहकार्यको प्रस्ताव गरेको छ। नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग गरेको शिष्टाचार भेटका क्रममा नेपालले यस्तो प्रस्ताव राखेको हो। भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालमा बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्न रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोग अपेक्षा गरिएको बताइन्। विशेषगरी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न उनले रुसी पक्षसमक्ष प्रस्ताव राखेकी थिइन्। नेपालको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले अघि सारेका प्रस्तावमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटमा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। राजदूत सुरोभ्त्सेभले व्यापार तथा आर्थिक फोरममार्फत नेपाल र रुसबीच भइरहेको सहकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य अझ मजबुत बन्ने धारणा राखे। सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकासमन्त्रीको तर्फबाट मन्त्री यादवलाई रुस भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै प्रस्तावित भ्रमणले नेपाल र रुसबीचको सहकार्यलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!