२०८३, भाद्र ५ गते

images

घारखोला जलविद्युत आयोजनामा पहिरो: सुरक्षागार्डको मृत्यु, ओभरसियरले झ्यालबाट हाम फालेर ज्यान जोगाए

मंगलवार , श्रावण २६, २०८३

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित घारखोला जलविद्युत आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना प्राविधिक घाइते भएका छन् भने अर्का एक जनाको सकुशल उद्धार गरिएको छ।

मंगलबार बिहान ३ः३५ बजे विद्युतगृहभन्दा माथिबाट ढुंगा-माटोसहितको सुक्खा पहिरो खसेर विद्युतगृह पुरिएको हो। पहिरोमा पुरिएर बेपत्ता भएका विद्युतगृहमा सुरक्षागार्डका रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल (खेमराज) को घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डोजर परिचालन गरी करिब एक घण्टाको प्रयासपछि बरुवालको शव निकालेको हो। शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।

ओभरसियरले झ्यालबाट हाम फालेर ज्यान जोगाए

पहिरो खस्दा विद्युतगृहमा कार्यरत इलेक्ट्रिकल ओभरसियर गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। एक्कासि पहिरो खसेपछि झ्यालबाट हाम फालेर बाहिर निस्कने क्रममा घाइते भएका विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।

सिफ्ट इन्चार्जसमेत रहेका पाल्पाको निस्दी गाउँपालिका-५ का २४ वर्षीय इलेक्ट्रिकल ओभरसियर छविलाल अर्याल भने विद्युतगृहभित्र थुनिएका थिए। उनले रस्सीको सहायताले बाहिर निस्किएर ज्यान जोगाएका छन्। अर्यालका अनुसार कन्ट्रोल रुममा ड्युटी गरिरहेका बेला अचानक आवाज आएपछि उनले सुरेन्द्रलाई खबर गरेका थिए। बाहिर निस्कने क्रममा करिब १० सेकेन्डको अन्तरले आफू पहिरोबाट जोगिएको उनले बताए।

पहिरोले विद्युतगृह पुरिएपछि करिब २०-२५ मिनेटसम्म आफू भित्रै थुनिएको र त्यस अवधिमा के भइरहेको थियो भन्ने थाहा नपाएको उनले बताए। पछि सुरेन्द्रले बाहिरबाट रस्सी उपलब्ध गराएपछि त्यसैको सहायताले आफू बाहिर निस्कन सफल भएको उनको भनाइ छ।

उपकरणमा क्षति, विद्युत उत्पादन बन्द

पहिरोका कारण विद्युतगृहका उपकरणमा क्षति पुगेपछि १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिका-५ र ६ को सीमाना कुरिलाबगरमा रहेको छ। आयोजनाले ३ हजार ५०० मिटर लामो सुरुङमार्फत ल्याइएको पानी ४८५ मिटर उचाइबाट १ हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्दै आएको थियो।

२०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाले २०८० असारदेखि विद्युत उत्पादन थालेको थियो। सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको आयोजनाले प्राकृतिक विपदका कारण ठूलो क्षति व्यहोर्नुपरेको हो।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार आयोजनामा पुगेको क्षतिको मूल्यांकन सुरु गरिएको छ। क्षतिको पूर्ण विवरण आउन भने केही समय लाग्नेछ। पोखरेबगरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँबाट सुक्खा पहिरो खसेर जनधनको क्षति भएको बताए।

रातिको समयमा विद्युतगृहको प्रवेशद्वारमा बसेर सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेका दीपक बरुवालको मृत्यु भएपछि पोखरेबगर शोकमा डुबेको उनले बताए। आयोजना र मृतकका परिवारबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाइएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!