भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने गरी स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमामा लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ।
बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट अति प्रभावित तीन जिल्लामा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउने जनाएको हो। बाढी प्रभावित नागरिकलाई उपचारका क्रममा थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा लाग्दै आएको को–पेमेन्ट र क्यापिङ हटाइएको बोर्डले जनाएको छ।
उपचार खर्चमा थप भार नपर्ने
स्वास्थ्य बीमा योजनाअन्तर्गत कुनै निश्चित सेवा वा उपचारमा बीमाले व्यहोर्ने रकमको अधिकतम सीमालाई क्यापिङ भनिन्छ। बोर्डको पछिल्लो निर्णयपछि तोकिएको अवधिमा रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बीमितले स्वास्थ्य सेवा लिँदा यस्तो सीमाका कारण उपचारमा अवरोध नहुने व्यवस्था गरिएको हो।
त्यस्तै, सामान्य अवस्थामा बीमितले उपचार खर्चको केही हिस्सा आफैँ व्यहोर्नुपर्ने सहभुक्तानी (को–पेमेन्ट) समेत यी जिल्लामा हटाइएको छ।
परिचयपत्र नभए पनि सेवा पाइने
बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा समेत बीमितलाई उपचारबाट वञ्चित नहुने बोर्डले जनाएको छ। बोर्डका अनुसार परिचयपत्र उपलब्ध नभएमा स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराइनेछ।
यसले विपद्का कारण कागजात तथा परिचयपत्र गुमाएका नागरिकलाई उपचार लिन थप सहज हुने अपेक्षा गरिएको छ। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहले बोर्डको निर्णयसँगै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने बताएका छन्।
भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य उपचारको आवश्यकता बढिरहेका बेला स्वास्थ्य बीमा बोर्डले सेवा प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस