राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक तथा सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित शहीद स्मृति कार्यक्रमको स्वरूप र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएकी छन्। मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि आयोजित कार्यक्रममा शहीद तथा घाइतेको भावना र पीडालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकिएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै धितालले विशेषगरी कार्यक्रमको मञ्च व्यवस्थापन र धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि प्रश्न उठाएकी छन्। उनले कार्यक्रममा सहभागी दुई विवादित धर्मगुरुको उपस्थितिलाई लिएर समेत असन्तुष्टि व्यक्त गरेकी छन्।
‘मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो?’ भन्दै उनले प्रश्न गरेकी छन्। आन्दोलनका क्रममा आफ्ना सन्तान गुमाएका परिवार र घाइतेहरूको पीडालाई स्मृति कार्यक्रमको केन्द्रमा राख्नुपर्ने उनको धारणा छ। ‘त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन्?’ उनले प्रश्न गरेकी छन्।
‘जेनजीको आवाज बोक्नेहरूले किन हस्तक्षेप गरेनन्?’
धितालले जेनजी आन्दोलनको मूल भावना र त्यसका लागि भएको बलिदानलाई स्मरण गर्दै कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाएकी छन्। उनले आन्दोलनको नेतृत्व र आवाजलाई अगाडि बढाउनेहरूले नै कार्यक्रमको स्वरूपप्रति समयमै हस्तक्षेप गर्न नसकेको भन्दै प्रश्न गरेकी छन्।
उनका अनुसार जेनजी आन्दोलन केवल एउटा पुस्ताको सडक प्रदर्शन थिएन। यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचार र निरंकुश सत्ताको विरोध तथा जवाफदेही शासनको मागसँग जोडिएको आन्दोलन थियो। त्यसैले आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा हुने कार्यक्रमले त्यही भावना र बलिदानलाई प्रतिबिम्बित गर्नुपर्ने उनको भनाइ छ।
‘हामीले चाहिँ सुध्रिनु नपर्ने?’
मंगलबारको कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतमलगायतले सम्बोधन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना राजनीतिक दलका नेताहरूलाई समयमै सुध्रिन चेतावनी दिएका थिए। गृहमन्त्रीको नाम उल्लेख नगरी धितालले त्यसप्रति पनि कटाक्ष गरेकी छन्।
‘सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने? यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान?’ उनले प्रश्न गरेकी छन्। उनको यो अभिव्यक्तिले जेनजी आन्दोलनपछि राजनीतिक नेतृत्व फेरिए पनि राजनीतिक संस्कार र कार्यशैलीमा अपेक्षित परिवर्तन आएको छ कि छैन भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ।
आन्दोलनको भावनाअनुसार आत्मसमीक्षा आवश्यक
धितालले आन्दोलनको मूल भावना आत्मसात् गर्दै आफूहरू पनि सुध्रिनुपर्ने आवश्यकता औँल्याएकी छन्। उनको भनाइमा जेनजी आन्दोलनका शहीदहरूको बलिदान अरूलाई मात्र प्रश्न गर्ने वा पुरानो नेतृत्वलाई मात्र सुधारको पाठ पढाउने आधार बन्नु हुँदैन। आन्दोलनबाट राजनीतिक लाभ लिने वा त्यसको प्रतिनिधित्व गर्ने सबैले आफ्नो भूमिका र कार्यशैलीबारे आत्मसमीक्षा गर्न आवश्यक छ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन आयोजित स्मृति कार्यक्रममा उठेको यो प्रश्नले आन्दोलनपछि बनेको नयाँ राजनीतिक नेतृत्वमाथि समेत जवाफदेहिताको दबाब बढाएको छ।
आन्दोलनले उठाएको सुशासन, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र जवाफदेहिताको माग अब नारामा सीमित रहने कि राजनीतिक व्यवहारमै देखिने भन्ने प्रश्नसँगै ‘परिवर्तनका लागि सडकमा ज्यान गुमाउनेहरूलाई राज्यले कस्तो सम्मान दियो?’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ।
प्रतिक्रिया दिनुहोस