बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ माघ २९ गते अनुमति पाएको थियो।
कम्पनीले कुल निष्कासनमध्ये १० लाख ४० हजार कित्ता अर्थात् जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि यसअघि नै निष्कासन तथा बाँडफाँड गरिसकेको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये २० हजार ८०० कित्ता कर्मचारी, ५२ हजार कित्ता सामूहिक लगानी कोष तथा १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
यी समूहमा सेयर निष्कासन तथा बाँडफाँड सम्पन्न भएपछि बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर अहिले सर्वसाधारणका लागि खुला गरिएको हो।
बेनी हाइड्रोपावरको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। यसका साथै लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
बेनी हाइड्रोपावरको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका सम्बन्धमा कम्पनीमा मध्यम जोखिम रहेको संकेत गर्छ। आईपीओमा आवेदन दिनुअघि लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, आयोजना, जोखिम तथा रेटिङसम्बन्धी विवरण अध्ययन गर्नुपर्ने हुन्छ। कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएकाले इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र आवेदन पूरा गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस