नेपाली कांग्रेसले आगामी पार्टी निर्वाचनका लागि विभिन्न तहका पदमा उम्मेदवारी शुल्क निर्धारण गरेको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ अनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
सभापति पदका उम्मेदवारले महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। सभापतिका लागि तोकिएको ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क कांग्रेसका केन्द्रीय तहका पदमध्ये सबैभन्दा बढी हो।
निर्देशिकाअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। उपसभापति र महामन्त्रीका उम्मेदवारलाई सात–सात जना प्रस्तावक तथा समर्थक, सहमहामन्त्रीका लागि पाँच–पाँच जना र केन्द्रीय सदस्यका लागि तीन–तीन जना प्रस्तावक तथा समर्थक आवश्यक पर्नेछ।
प्रदेश तहमा सभापतिका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, वडा सभापतिका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क लाग्नेछ। वडा उपसभापति, सचिव र सहसचिवका लागि ७ सय रुपैयाँ तथा वडा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिका सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट स्वीकृत भइसकेको छ। निर्देशिकाले पार्टीको विभिन्न तहका पदमा उम्मेदवारीका लागि आवश्यक प्रस्तावक, समर्थक र शुल्कसम्बन्धी मापदण्ड स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस