२०८३, आश्विन ९ गते

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन मुख्य एजेन्डा

बुधवार , भाद्र ३१, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने रास्वपाले जनाएको छ।

यो लामिछानेले आह्वान गरेको तेस्रो सर्वदलीय बैठक हो। यसअघि भदौ १० गते पहिलो सर्वदलीय बैठक बसेको थियो। भोटेकोशीलगायत नदी बेसिनमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिपछि बसेको उक्त बैठकमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल भएको थियो।

पहिलो बैठकले विपद् व्यवस्थापनलाई दलगत प्रतिस्पर्धाभन्दा माथि राख्दै सहकार्य गर्ने र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयसहित १० बुँदे साझा सङ्कल्प गरेको थियो।

त्यसपछि भदौ १६ गते दोस्रो सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका थिए। बैठकले विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनासँग सम्बन्धित विषयमा साझा धारणा बनाएको थियो।

यसपटकको बैठकमा भने सोही साझा सङ्कल्पमा उल्लेख भएको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलाई अघि बढाउने विषयमा छलफल हुने रास्वपाले जनाएको छ। भदौ १० गतेको बैठकबाट संयन्त्र गठनमा सहमति भए पनि त्यसको कार्यान्वयन हुन बाँकी रहेको विषयसमेत सार्वजनिक रूपमा उठ्दै आएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!