भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ।
भारत भ्रमणको दोस्रो दिन शुक्रबार नयाँदिल्लीमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको हो। नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायबारे छलफल भएको छ।
भेटमा दुवै पक्षले नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ बनाउँदै आर्थिक विकास र समुन्नतिका लागि द्विपक्षीय सहकार्य अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए।
सो अवसरमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै आएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। भेटमा दुई देशबीचको बलियो र भरपर्दो सम्बन्धको आधारमा आर्थिक तथा विकास सहकार्यलाई थप गति दिने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ।

अर्थमन्त्री वाग्लेले भारत भ्रमणको पहिलो दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरेका थिए। सो भेटमा नेपाल–भारतबीचका द्विपक्षीय आर्थिक हित तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय उच्च कूटनीतिक अधिकारीहरूसँग समेत भेटवार्ता तथा छलफल गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस