कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ।
बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च स्थापना गरेको हो।
बेन्च स्थापना कार्यक्रम बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैंकले जनाएको छ।
कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रत्यक्ष उपयोगमा आउने पूर्वाधार निर्माण गरेकोमा बैंकलाई धन्यवाद दिए। प्रतीक्षा–बेन्चले यात्रु तथा स्थानीय बासिन्दालाई दैनिक आवतजावतका क्रममा सहजता प्रदान गर्ने उनले बताए।
बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकिङ सेवासँगै स्थानीय समुदायको आवश्यकता र सर्वसाधारणको सुविधालाई समेत प्राथमिकतामा राखेर सामाजिक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको बताए। यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले उल्लेख गरे।
कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिको सहभागिता थियो। बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदायको आवश्यकता र सर्वसाधारणको सुविधालाई लक्षित गरी विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस