२०८३, आश्विन ९ गते

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन किन्न ८० प्रतिशतसम्म कर्जा

बिहिवार , आश्विन ८, २०८३

मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने समझदारी भएको छ।

सम्झौताअनुसार ग्राहकले बुल मेसिनलाई नै धितोका रूपमा राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौतापछि बुल मेसिन खरिद गर्न चाहने निर्माण व्यवसायी तथा ग्राहकलाई मेसिन खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकले जनाएको छ।

बुल मेसिनलाई नै धितोका रूपमा राखेर ५० प्रतिशतसम्म कर्जा लिन सकिने भएकाले ग्राहकले थप स्थिर सम्पत्ति धितो नराखी पनि तोकिएको सीमासम्म वित्तीय सुविधा लिन सक्नेछन्। थप स्थिर सम्पत्ति उपलब्ध गराउने ग्राहकको हकमा भने कर्जा मूल्यांकन र बैंकको प्रचलित नीतिअनुसार ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध हुन सक्नेछ।

निर्माण क्षेत्रमा लगानी बढाउने लक्ष्य

मुक्तिनाथ विकास बैंकका अनुसार यो सहकार्यले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्नेछ। विशेषगरी निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो।

निर्माण उपकरण खरिदमा आवश्यक पर्ने ठूलो प्रारम्भिक लगानीलाई कर्जामार्फत व्यवस्थापन गर्न सकिने भएकाले व्यवसायीलाई उपकरण थप्न तथा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ। मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) लगायत विभिन्न क्षेत्रमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

बैंकले ग्राहकको आवश्यकता र कर्जा नीतिअनुसार विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको पनि जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!