२०८३, आश्विन ९ गते

आजदेखि पोखराबाट दुबईमा फ्लाई दुबईको नियमित उडान

बुधवार , आश्विन ७, २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमितता पाउन सकेका थिएनन्। फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि भने विमानस्थलको अन्तर्राष्ट्रिय कनेक्टिभिटी विस्तार हुने अपेक्षा गरिएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ। पोखराबाट यात्रु लिएर विमान साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो नियमित उडानलाई विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ। पोखरा आउने यात्रु तथा पर्यटकलाई पर्यटन व्यवसायीले खादा र मालाले स्वागत गर्ने तथा दुबई प्रस्थान गर्ने यात्रुलाई बिदाइ गर्ने तयारीसमेत गरिएको छ।

फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको विमानस्थल प्रशासनले जनाएको छ।महाप्रबन्धक  निरौलाका अनुसार अध्यागमन, भन्सार, कार्गोलगायतका सेवा प्रवाहका लागि विमानस्थल तयार अवस्थामा छ। विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडानले निरन्तरता पाउन नसकेको अवस्थामा फ्लाई दुबईको नियमित उडानले नयाँ आधार तयार गर्ने उनको भनाइ छ।

पोखरा विमानस्थल भन्सार कार्यालयले पनि यात्रु जाँचपास, राजस्व संकलन तथा निकासी-पैठारीसँग सम्बन्धित आवश्यक तयारी पूरा गरेको जनाएको छ।

दुबई हुँदै विश्वका धेरै गन्तव्यमा जोडिने अपेक्षा

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हबमध्ये एक भएकाले पोखरा–दुबई नियमित उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सक्ने बताए। फ्लाई दुबईले दुबईबाट विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराबाट दुबई पुगेका यात्रुले त्यहाँबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा समेत यात्रा गर्न सक्ने उनको भनाइ छ।

नियमित उडानले पोखरामा विदेशी पर्यटकको आगमन बढाउन तथा पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ। त्यस्तै, रोजगारी तथा अध्ययनका लागि दुबई जाने नेपालीका लागि पनि पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्ने विकल्प थपिनेछ।

नियमित अन्तर्राष्ट्रिय उडानलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी आवश्यक सुरक्षा व्यवस्थाबारे तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित दुबई उडान सुरु भएपछि विमानस्थलको सञ्चालन, पर्यटन आगमन र पोखराको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीमा नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ।
  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!