२०८३, आश्विन ९ गते

पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाजमा इन्धन, फ्लाई दुबईको नियमित उडान सुरु

बुधवार , आश्विन ७, २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरिएको आधुनिक हवाई इन्धन डिपोबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडानका लागि इन्धन वितरण गरिएको छ। नेपाल आयल निगमले विमानस्थल परिसरमा निर्माण गरेको डिपोबाट बुधबार फ्लाई दुबईको जहाजमा इन्धन भरिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि यसको सेवा सुरु भएको हो।

दुबईबाट साँझ ६ः१८ बजे पोखरा आएको फ्लाई दुबईको जहाजमा ५ हजार ५ सय ४० लिटर हवाई इन्धन भरिएको निगमका उपनिर्देशक रामहरि निरौलाले जानकारी दिए। पहिलो अन्तर्राष्ट्रिय इन्धन वितरणका लागि काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन कार्यालयमा कार्यरत निरौला पोखरा पुगेका थिए। पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरेरै उक्त डिपो निर्माण गरिएको निगमले जनाएको छ।

३६ सय किलोलिटर इन्धन भण्डारण क्षमता

डिपोमा अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) को मापदण्ड पूरा गरेका १ हजार २ सय किलोलिटर क्षमताका तीनवटा भण्डारण गृह छन्। तीनवटाको कुल क्षमता ३ हजार ६ सय किलोलिटर रहेको छ।

डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा परामर्शको काम पुल्चोक इन्जिनियरिङ क्याम्पसले गरेको हो। यसबाट आन्तरिक उडानका जहाजलाई भने नियमित रूपमा इन्धन वितरण हुँदै आएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय उडानका लागि समेत डिपो सञ्चालनमा आएपछि पोखरा विमानस्थलमा यात्रु सेवा बाहेक उडान सञ्चालनका लागि आवश्यक इन्धन आपूर्तिको पूर्वाधारसमेत स्थानीय रूपमा उपलब्ध भएको छ।

नियमित अन्तर्राष्ट्रिय उडानसँगै पूर्वाधारको उपयोग

फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई रुटमा दैनिक नियमित उडान सुरु गरेको छ। १६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान पहिलो उडानमा १ सय १३ यात्रु लिएर पोखरा आएको थियो।

821523308_933262609405106_1702347685469932757_n.jpg

पोखराबाट अब दुबई हुँदै अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुको विकल्प विस्तार भएको छ। फ्लाई दुबईको इमिरेट्स एयरलाइन्ससँगको कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै २ सय ५० भन्दा बढी सहरसम्म पुग्न सकिने कम्पनीले जनाएको छ। यसले पोखरा विमानस्थलमा निर्माण भएका अन्तर्राष्ट्रिय उडानसम्बन्धी पूर्वाधारको उपयोग बढाउने आधार तयार गरेको छ।

इन्धनदेखि पर्यटनसम्म आर्थिक गतिविधिको सम्भावना

नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएपछि यसको प्रभाव विमानस्थलमा मात्र सीमित नहुने व्यवसायीको अपेक्षा छ। हवाई इन्धन, विमानस्थल सेवा, होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा पर्यटन व्यवसायमा गतिविधि विस्तार हुने सम्भावना छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले अन्तर्राष्ट्रिय उडानलाई पर्यटनसँगै व्यापार र स्थानीय उत्पादनको बजार विस्तारसँग जोड्नुपर्ने बताएका छन्। पोखरा आसपासका कृषि तथा स्थानीय उत्पादनलाई दुबईको बजारसम्म पुर्‍याउने सम्भावनासमेत खोजिनुपर्ने उनको भनाइ छ। खाडी मुलुकमा रोजगारीका लागि जाने श्रमिक, विदेश अध्ययनमा जाने विद्यार्थी, व्यवसायी तथा पर्यटकका लागि पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने अवसरसमेत खुलेको छ।

नियमितता र व्यावसायिक उपयोगको चुनौती

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विभिन्न चार्टर्ड तथा विशेष अन्तर्राष्ट्रिय उडान हुँदै आए पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन सकेको थिएन।

फ्लाई दुबईको दैनिक उडान र अन्तर्राष्ट्रिय इन्धन सेवा सुरु भएपछि विमानस्थलका लागि नयाँ चरण सुरु भएको छ। अब यसको प्रभावकारिता उडानको निरन्तरता, यात्रु संख्या वृद्धि र तयार भएका पूर्वाधारको व्यावसायिक उपयोगमा निर्भर हुनेछ।

हवाई इन्धन डिपोको अन्तर्राष्ट्रिय सञ्चालनले भने पोखरा विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक आधारभूत पूर्वाधारको अर्को महत्वपूर्ण कडी पूरा गरेको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!