बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)को सहकार्यमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। ‘नेक्स्टजेन नेपाल : एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ नारासहित सम्मेलन असोज २३ गते काठमाडौंमा आयोजना हुन लागेको हो।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरबाट करिब ४ सय उद्यमी, व्यवसायी तथा सरोकारवाला सहभागी हुने आयोजकले जनाएको छ। सम्मेलनको सहकार्यका लागि सीबीफीन र एनबीआईबीच असोज ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्मेलनमा युवा उद्यमशीलता विकासका लागि आवश्यक वित्तीय पहुँच, वित्तीय समावेशीकरण, नवप्रवर्तन, कृत्रिम बौद्धिकता (एआई), स्टार्टअप तथा प्रविधिको उपयोग लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ। सीबीफीनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तार र व्यावसायिक बनाउन सहयोग गर्ने बताए।
उनका अनुसार युवा उद्यमीका लागि वित्तीय साक्षरता बढाउने, डिजिटल बैंकिङको प्रयोग विस्तार गर्ने तथा जिम्मेवार कर्जा उपभोगको संस्कार विकास गर्ने विषय सम्मेलनका महत्वपूर्ण एजेन्डा हुनेछन्। बैंक तथा वित्तीय संस्थाले ल्याएका नवीन वित्तीय उत्पादनलाई लक्षित वर्गसम्म पुर्याउन तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउनसमेत सम्मेलन उपयोगी हुने उपाध्यायले बताए।
स्टार्टअपलाई बिउ पुँजी र वित्तीय पहुँचको चुनौती
एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए। उनका अनुसार स्टार्टअपका लागि बिउ पुँजी, उद्यममा वित्तीय पहुँच र आवश्यक नीतिगत व्यवस्था प्रत्यक्ष रूपमा बैंक तथा वित्तीय क्षेत्रसँग जोडिएका विषय हुन्। त्यसैले सीबीफीनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ। नेपालमा युवा उद्यमीले व्यवसाय सुरु गर्दा पुँजीको अभाव, वित्तीय पहुँच, बजार, प्रविधि र नीतिगत जटिलतालगायतका चुनौती सामना गर्नुपर्ने अवस्था छ। सम्मेलनले यस्ता विषयमा निजी क्षेत्र, वित्तीय क्षेत्र र नीति निर्माताबीच संवादको अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ।
सम्मेलनको मुख्य विषयमध्ये कृत्रिम बौद्धिकता (एआई) र भविष्यको रोजगारी पनि रहेको छ। प्रविधिको तीव्र विकाससँगै व्यवसाय सञ्चालन, उत्पादन, सेवा प्रवाह र रोजगारीको स्वरूप परिवर्तन भइरहेकाले युवा उद्यमीलाई नयाँ प्रविधिसँग जोड्नु सम्मेलनको उद्देश्य रहेको आयोजकले जनाएको छ। एआई, स्टार्टअप, नवीन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा काम गरिरहेका र ती क्षेत्रमा प्रवेश गर्न खोजिरहेका युवालाई आवश्यक जानकारी, नेटवर्क र मार्गदर्शन उपलब्ध गराउने उद्देश्य सम्मेलनको रहेको छ।
आयोजकका अनुसार सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण र लगानीको वातावरण सुधारका लागि आवश्यक दिशाबोध गर्नेछ। सरकार, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, विकास साझेदार र युवा उद्यमीलाई एउटै मञ्चमा ल्याएर उद्यमशीलता विकासका अवरोध तथा सम्भावनाबारे छलफल गरिनेछ।
युवा उद्यमशीलतालाई वित्तीय पहुँच, प्रविधि र रोजगारीसँग जोड्न सके त्यसले उत्पादन, लगानी र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ। सम्मेलनमा सहभागी हुने करिब ४ सय उद्यमी तथा सरोकारवालाबीच हुने छलफलबाट युवा उद्यमशीलता, स्टार्टअप वित्त, डिजिटल बैंकिङ, एआई र भविष्यको रोजगारीका विषयमा थप सहकार्यका क्षेत्र पहिचान हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस