सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
मोरङ प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी एवं डीएसपी मकेन्द्रकुमार मिश्रले उपचारकै क्रममा मेहताको निधन भएको पुष्टि गरेका छन्।
कप्तानगञ्ज घटनामा प्रहरीसहित २२ जना घाइते भएका थिए। तीमध्ये १० जना युवालाई गोली लागेको प्रहरीले जनाएको छ।
हाल पनि गोली लागेका आठ जना युवाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

