सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनापछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रहरीको गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो। उनको शव स्थानीय अस्पतालमा राखिएको छ।
घटनामा गोली लागेर अन्य केही व्यक्ति पनि घाइते भएका छन्। एक जना घाइतेलाई थप उपचारका लागि नेपाली सेनाले अस्पताल पुर्याएको प्रशासनले जनाएको छ। स्थानीयका अनुसार केही घाइते प्रदर्शनकारी घटनास्थलमै सडकमा लडेका थिए।
दुई समुदायबीच बढ्दो तनाव नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रहरीले गोली चलाएको जनाइएको छ। सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा आइतबार रातिदेखि सुरु भएको तनाव मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिँदै जाँदा हिंसात्मक घटना पनि बढ्न थालेका छन्।
प्रदर्शनका क्रममा गोलबजारमा पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। आगो गोलबजार नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्थिति थप तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यसैबीच, मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित केही क्षेत्रमा पनि दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोदेखि कर्फ्यु लागू गरेको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, कर्फ्यु आदेशको पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

