सरकार र नेपाल चिकित्सक संघबीच चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्य संस्थाको संरक्षणलगायत विषयमा पाँचबुँदे सहमति भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएपछि आन्दोलनरत चिकित्सक र सरकारबीच बुधबार पाँचबुँदे सहमति भएको हो । सहमतिसँगै नेपाल चिकित्सक संघले जारी आन्दोलन अन्त्य गरी स्वास्थ्य सेवा सुचारु गर्ने भएको छ ।
सहमतिअनुसार नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनअनुसार कारबाही अघि बढाउने भएको छ ।
त्यस्तै, स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा स्वास्थ्य संस्थामा हुने तोडफोडलाई फौजदारी कसुरअन्तर्गत कडा कारबाही गर्ने व्यवस्था गर्न मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ र २३३ संशोधन प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।

स्वास्थ्यसम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि सात दिनभित्र संयुक्त कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएका सम्झौता कार्यान्वयनका लागि तीन दिनभित्र स्वास्थ्य मन्त्रालय र चिकित्सक संघको संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ ।
पाँचबुँदे सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम अन्त्य गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवा प्रवाहमा फर्काउने भएको छ ।

