अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका हुन्। उनले समितिलाई आजैदेखि आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्।
वार्ता समितिको सदस्य–सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई जिम्मेवारी दिइएको छ।
अर्थ मन्त्रालयका अनुसार समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्नेछ। उक्त बैठकले आन्दोलनरत लघुवित्त पीडितसँग आजैदेखि औपचारिक वार्ता सुरु गर्ने तयारी गरेको छ।

