त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा पूर्वनिर्धारित एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) को परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरले शुक्रबार सूचना जारी गर्दै व्यवस्थापन संकाय, डीनको कार्यालयको निर्णयअनुसार साउन १५ गते सञ्चालन हुने ‘बजार व्यवस्थापन’ विषयको परीक्षा ती केन्द्रहरूमा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
विश्वविद्यालयले विशेष परिस्थितिका कारण मधेश प्रदेशका केही निश्चित परीक्षा केन्द्रमा मात्र परीक्षा स्थगित गरिएको जनाएको छ। स्थगित भएको विषयको नयाँ परीक्षा तालिका यथाशीघ्र सार्वजनिक गरिने सूचनामा उल्लेख छ।
यद्यपि, उक्त ११ वटा परीक्षा केन्द्रबाहेक अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयले स्पष्ट पारेको छ।
त्रिभुवन विश्वविद्यालयले सम्बन्धित विद्यार्थीहरूलाई नयाँ परीक्षा तालिकासम्बन्धी सूचनाका लागि विश्वविद्यालयको आधिकारिक सूचनामा नियमित ध्यान दिन आग्रह गरेको छ।


