अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गर्दै कैद, बिगोबमोजिम जरिवाना तथा घुसस्वरूप लिइएको रकम जफतको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा ५ लाख रुपैयाँ जम्मा भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
अनुसन्धानबाट आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयन गर्ने जिम्मेवारी तत्कालीन एमआईएस अपरेटर कँहारलाई दिइएको खुलेको आयोगले जनाएको छ।
कँहारले उक्त कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी ६ लाख रुपैयाँ पेस्की लिएका थिए। आयोगका अनुसार रकम खातामा आएलगत्तै त्यसमध्ये ५ लाख रुपैयाँ उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको थियो।
अख्तियारले पेस्की रकम कार्यक्रम सञ्चालनमा खर्च नगरी घुस तथा रिसवतका रूपमा उपाध्यक्ष चौधरीलाई उपलब्ध गराइएको तथा यस कार्यमा दुवै जनाबीच मिलेमतो रहेको अनुसन्धानबाट खुलेको जनाएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

