जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत व्यक्तिलाई बयानका लागि बोलाइने चर्चा भइरहेका बेला आयोगले बुधबार प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गरी आफ्नो कार्ययोजना जानकारी गराएको हो।
प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले बाँकी रहेका सबै सरोकारवालालाई अर्को हप्ता बयानका लागि बोलाउने तयारी गरेको बताए। उनले भने, “हामी सबैलाई बोलाउँछौँ। अर्को हप्ता बोलाउँछौँ। नआउनेलाई के गर्ने भन्ने विषयमा पछि निर्णय गर्छौँ।”
जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको निष्कर्षसहित अन्तरिम सरकारले दोषी पहिचान गरी कारबाही गर्न कार्यादेश दिँदै कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले घटनासम्बन्धी तथ्य सङ्कलन, जिम्मेवारी निर्धारण तथा सिफारिससहितको प्रतिवेदन तयारीलाई तीव्र बनाएको जनाएको छ।
आयोगको म्याद एक महिना थपिने
सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाधिकारीहरूबीच भएको भेटवार्तापछि म्याद थप गर्ने प्रक्रिया अघि बढेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफ्नो टोलीसहित प्रधानमन्त्रीलाई भेटी निर्धारित समयभित्र काम नसकिएकाले म्याद बढाउन आग्रह गरेका थिए।
अध्यक्ष कार्कीका अनुसार, विभिन्न प्राविधिक र प्रशासनिक ढिलाइका कारण आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन। बीचमा दुई हप्ताभन्दा बढी सार्वजनिक बिदा परेको र प्रहरी प्रशासनबाट समयमै आवश्यक नामावली (लिष्ट) प्राप्त हुन नसक्दा काममा अवरोध आएको उनले स्पष्ट पारे।
सोही वस्तुस्थितिलाई बुझेर प्रधानमन्त्री कार्कीले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा ल्याउन र म्याद थप गरिदिने आश्वासन दिएकी थिइन्। आयोगको हालको म्याद यही पुस ९ गते सकिँदैछ। कार्यादेशअनुसार बाँकी रहेका अनुसन्धान र प्रतिवेदन लेखनका कामहरूलाई पूर्णता दिन थप एक महिनाको समय पर्याप्त हुने आयोगको विश्वास छ। प्रधानमन्त्रीसँगको सहमतिसँगै अब आयोगले आफ्नो बाँकी कामलाई तीव्रता दिने तयारी गरेको छ।

