बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा बजेट कार्यान्वयनलाई क्रमशः गति दिँदै लगेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भइसकेको छ भने पुँजीगत खर्च पनि योजनागत रूपमा अघि बढिरहेको छ ।
प्रदेश सरकारले चालु आवका लागि कुल रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित गरेको थियो । बजेट कार्यान्वयनमा केही महत्वपूर्ण निकायहरूले उल्लेखनीय प्रगति देखाएका छन् । प्रदेश लोकसेवा आयोगले सबैभन्दा बढी २९.९० प्रतिशत बजेट खर्च गर्दै प्रशासनिक सुदृढीकरणमा सक्रियता देखाएको छ । त्यसैगरी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत र स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश नीति तथा योजना आयोग (१९.०४ प्रतिशत) र श्रम, रोजगार तथा यातायात मन्त्रालय (१९.५५ प्रतिशत) ले पनि विकास योजना र सेवाप्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम अघि बढाएका छन् ।
यद्यपि संस्कृति तथा पर्यटन मन्त्रालयको खर्च हाल १.४८ प्रतिशतमा सीमित रहे पनि आगामी महिनाहरूमा ठेक्का प्रक्रिया, योजना कार्यान्वयन र पर्यटन प्रवर्द्धनका कार्यक्रमले तीव्रता पाउने प्रदेश सरकारको अपेक्षा छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिमा पुँजीगत खर्च बढाउने, विकास आयोजना समयमै सम्पन्न गर्ने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस