२०८३, आश्विन १० गते

अर्थमन्त्री डा. वाग्लेकाे गम्भीर प्रश्न: चिनियाँ कम्पनी बीवाईडीलाई मात्रै किन तारो बनाइँदैछ?

बुधवार , जेठ २७, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चिनियाँ गाडी बीवाईडी कम्पनीलाई तारो बनाएर बीवाईडीको बदनाम गराउन संगठित समूह लागेको आशंका गरेका छन् । संसदीय समितिको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले चिनियाँ विद्युतीय गाडी उत्पादक ब्रान्ड 'बीवाईडी'लाई मात्रै नियतवश उचालिएको भन्दै तीव्र आक्रोश पोखे। उनले नेपालमा भइरहेको ठूलो वित्तीय अपराधको छानबिनबाट ध्यान मोड्नका लागि अपराधीहरूबाटै आश्रित समूहहरू सलबलाएको हुन सक्ने गम्भीर आशङ्का समेत व्यक्त गरे। बजेट वक्तव्य सार्वजनिक भएपछि गाडी आयात र भन्सारको विषयलाई लिएर मिडिया र सामाजिक सञ्जालमा भइरहेको आलोचनाप्रति मन्त्री वाग्लेले कडा आपत्ति जनाए। 'बीवाईडी एक प्रतिष्ठित चिनियाँ कम्पनी हो, तर अहिले यहाँ बीवाईडी बीवाईडी मात्रै किन भनिएको छ ? के यसको पछाडि अर्कै चलखेल भइरहेको त छैन ?' भन्दै उनले समितिमा प्रश्न गरे। उनले देशमा चलिरहेको ठूलो वित्तीय अपराधको छानबिनलाई कमजोर पार्न तिनै समूहले एउटा ब्रान्डलाई मात्रै उछालेर भ्रमको खेती गरिरहेको दाबी गरे। पत्रकार र मिडियाको रिपोर्टिङप्रति आक्रामक रूपमा प्रस्तुत भएका अर्थमन्त्रीले संसद्का माननीय सदस्यहरूलाई समेत सजग गराए। तथ्य नै नबुझी एक–दुईवटा सञ्चारमाध्यमले उछालेकै भरमा 'हाउगुजी' को पछि लाग्दा सांसदहरूकै ओज घट्ने टिप्पणी उनले गरे। 'केही समय जनतामा भ्रम छर्न सकिए पनि त्यो धेरै दिन टिक्दैन,' उनले थपे, 'जसले राम्रो र दूरदर्शी काम गरेको छ, उसैलाई नियोजित रूपमा हिलो छ्याप्ने काम भइरहेको छ।' गाडी आयातको विषयलाई नियमित व्यावसायिक प्रक्रियाको रूपमा लिन आग्रह गर्दै उनले बजेट अगाडि विलासी वस्तु वा गाडीमा कर बढ्छ कि भनेर व्यापारीले अनुमान गर्नु र सोही आधारमा चार–पाँच महिनाअघि नै एलसी खोलेर सामान ल्याउनु स्वाभाविक भएको स्पष्ट पारे। रसुवा नाकाबाट आएका गाडीले राष्ट्रलाई फाइदा नै पुर्‍याएको बताउँदै उनले भन्सार प्रक्रियामा कतै प्राविधिक गडबडी भएको हो कि भन्ने शङ्का लागेपछि सरकार आफैँले छानबिन समिति बनाएर गाडी फिर्ता बोलाएको जानकारी दिए। वर्तमान सरकारले करका दरहरूमा कुनै पनि अनैतिक चलखेल सोच्न समेत नसक्ने दाबी गर्दै उनले हल्लाका पछि नलाग्न सबैलाई अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!