२०८३, आश्विन १० गते

ललितपुर महानगरको ७ अर्ब ४८ करोडको बजेट

बुधवार , आषाढ १०, २०८३

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विकास, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई केन्द्रमा राख्दै ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार नगरसभामा बजेट प्रस्तुत गर्दै मञ्जली शाक्य बज्राचार्य ले नगरवासीका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइन्। उनले सकारात्मक सोच, राम्रा कामको निरन्तरता र असल अभ्यासलाई संस्थागत गर्दै सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका वर्ग, समुदाय तथा क्षेत्रलाई विकासको मूलधारमा समेट्ने लक्ष्य लिइएको उल्लेख गरिन्। महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिसअनुसार आगामी वर्षका लागि उक्त बजेट विनियोजन गरेको हो। कुल बजेटमध्ये ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसमध्ये चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको छ। महानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको छ। यसमध्ये चालुतर्फ ७२ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरिएको छ। आगामी वर्षको बजेटले स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन, सार्वजनिक जग्गा संरक्षण, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, हरियाली विस्तार तथा सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको छ। साथै संस्थागत सुदृढीकरण, दिगो पूर्वाधार तथा शहरी विकास, सुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, पर्यटन प्रवर्द्धन, युवा तथा खेलकुद, बालमैत्री कार्यक्रम, रोजगार सिर्जना र गरिबी न्यूनीकरणलाई पनि उच्च प्राथमिकतामा समेटिएको छ। महानगरले निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजसँग सहकार्य बढाउँदै प्रविधिमैत्री र जवाफदेही सेवा प्रवाह सुनिश्चित गर्ने तथा प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यसमेत बजेटमार्फत अघि सारेको छ। महानगरपालिकाले सीमित स्रोत–साधनका बाबजुद विकास निर्माण, सम्पदा संरक्षण, सेवा प्रवाह सुधार र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। बजेटको आकार भने चालु आर्थिक वर्षको बजेटकै हाराहारीमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!