दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना मेसिन र तान पुनः सञ्चालनमा आएका छन्। उद्योगका थन्किएका मेसिन मर्मतसम्भारपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तान मर्मत गरी परीक्षण उत्पादन सुरु गरिएको हो। लामो समयदेखि बन्द रहेका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा पुनः कपडा बुन्ने तानको आवाज सुनिन थालेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उद्योग पुनः सञ्चालनका लागि भइरहेको प्रयासअन्तर्गत अहिले परीक्षण उत्पादनको चरणमा पुगेको परियारको भनाइ छ। नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको उनले बताएका छन्।
विद्युत् प्रणालीदेखि मेसिनसम्म मर्मत
लामो समय बन्द रहँदा हेटौंडा कपडा उद्योगका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण बनेका थिए। पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो।
विद्युत् प्रणाली मर्मतको काम सम्पन्न भएपछि पुराना मेसिन सञ्चालन गरेर परीक्षण उत्पादन सुरु गरिएको हो। परीक्षण उत्पादनबाट मेसिनको कार्यक्षमता, उत्पादन प्रक्रिया तथा उद्योग सञ्चालनका व्यावहारिक पक्षको मूल्यांकन गरिनेछ। उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले पनि तत्काल परीक्षण उत्पादन सुरु गरी त्यसबाट प्राप्त परिणामका आधारमा दीर्घकालीन रूपमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई दिएको थियो।
सरकारले चालु आर्थिक वर्षमै हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउँदै आएको छ। गत १८ असारमा सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको प्रक्रिया अघि बढेको हो।
उद्योगमन्त्री गौरीकुमारी यादवले पनि रुग्ण सरकारी उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने बताएकी थिइन्। कपडा उद्योगसँगै बुटवल धागो कारखाना र कपास खेतीलाई समेत अघि बढाउने सरकारको योजना छ।
चिनियाँ सहयोगमा स्थापना, २०५७ देखि बन्द
हेटौंडा कपडा उद्योग २०३२ सालमा चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको थियो। उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर लामो समयसम्म सञ्चालनमा रहन नसकेपछि उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ। यसरी हेर्दा उद्योग करिब २६ वर्षदेखि उत्पादनविहीन अवस्थामा रहेको छ।
उद्योग पुनः सञ्चालनको प्रयास भने यसअघि पनि पटक–पटक भएका थिए। २०७३ सालमा उद्योगको विस्तृत अध्ययनका लागि समिति गठन गरिएको थियो। त्यसपछि २०७५ सालमा तयार गरिएको अध्ययन प्रतिवेदनले उद्योग पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो। उक्त अध्ययनले उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने र विभिन्न मोडालिटीमार्फत उद्योग सञ्चालन गर्न सकिने सुझाव दिएको थियो।
२०७५ सालमै नेपाली सेनालाई समेत सहभागी गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को बजेटमा हेटौंडा कपडा उद्योगलाई सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।
परीक्षण उत्पादनपछि पूर्ण सञ्चालनको लक्ष्य
परीक्षण उत्पादन सुरु हुनु उद्योग पुनः सञ्चालनको दिशामा महत्वपूर्ण कदम भए पनि यसलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र दिगो बनाउनु सरकारका लागि मुख्य चुनौती हुनेछ। करिब २६ वर्षदेखि बन्द रहेको उद्योगका पुराना मेसिन र प्रविधिबाट उत्पादन गर्दा आधुनिक निजी उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुन सक्ने उद्योग क्षेत्रका जानकारहरूको धारणा छ। उत्पादन लागत, मेसिनको कार्यक्षमता, ऊर्जा खर्च र गुणस्तर कायम गर्ने विषयले उद्योगको व्यावसायिक सम्भाव्यता निर्धारण गर्नेछ।
त्यस्तै, कपास, धागो तथा अन्य कच्चा पदार्थको नियमित र प्रतिस्पर्धी मूल्यमा आपूर्ति सुनिश्चित गर्नु पनि उद्योगको दिगोपनाका लागि महत्वपूर्ण हुनेछ। उद्योगलाई सरकारी संरक्षणमा मात्र चलाउने कि व्यावसायिक आधारमा प्रतिस्पर्धी बनाउने भन्ने विषय पनि पुनः सञ्चालनसँगै महत्वपूर्ण बन्नेछ। परीक्षण उत्पादनबाट प्राप्त परिणामले भविष्यमा उद्योगलाई कुन मोडालिटीमा र कति क्षमतामा सञ्चालन गर्ने भन्ने निर्णयमा आधार दिनेछ।
सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन
प्रधानमन्त्री शाहका अनुसार हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन अघि बढाएपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको उनले बताएका छन्। तान मर्मतपछि परीक्षण उत्पादन सुरु भएसँगै केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको प्रधानमन्त्री शाहको भनाइ छ।
लामो समयदेखि बन्द रहेको सरकारी उद्योगमा पुनः तान चल्न थालेसँगै हेटौंडा कपडा उद्योग सञ्चालनको सम्भावना फेरि बलियो बनेको छ। तर परीक्षण उत्पादनलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै उद्योगलाई आर्थिक रूपमा दिगो र बजारमा प्रतिस्पर्धी बनाउने क्षमता नै यसको पुनर्जागरणको वास्तविक परीक्षा हुनेछ।
प्रतिक्रिया दिनुहोस