चीनसँगको नेपालको प्रमुख व्यापारिक नाका तातोपानी करिब डेढ महिनादेखि बन्द हुँदा नेपाल-चीनबीचको व्यापारिक आपूर्ति शृङ्खला प्रभावित भएको छ। लगातारको पहिरोका कारण सडक सञ्चालनमा आउन नसक्दा चीनतर्फ भन्सार प्रक्रिया पूरा भएका करिब ८५ वटा मालवाहक गाडी नाका पार गर्न नसकी रोकिएका छन् भने नेपाल प्रवेश गरिसकेका कैयौँ कन्टेनरसमेत पहिरोका कारण बीच बाटोमै अलपत्र छन्।
तातोपानी नाका बन्द हुनु केवल ढुवानी अवरोधको विषय होइन। यसले आयातकर्ता, उपभोक्ता, सरकारको राजस्व र चाडपर्व लक्षित बजारसम्म प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार डाक्लाङ क्षेत्रमा रहेको पहिरो हटाएर केही गाडी अघि बढाइए पनि भन्सार र नाकाबीचको इको र लिपिङ क्षेत्रमा सडक अझै अवरुद्ध छ। लिपिङमा सडकको ठूलो हिस्सा नै बगाएकाले तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार नेपाल प्रवेश गरिसकेका ट्रकहरू विभिन्न स्थानमा पहिरोको जोखिमबीच रोकिएका छन्। सुख्खा बन्दरगाह क्षेत्रसमेत ढुंगे पहिरोको जोखिममा रहेको छ।
चाडपर्वको आयातमा बढ्दो दबाब
तातोपानी नाका बन्द भएको असर अब दसैँ/तिहार लक्षित आयातमा देखिन सक्ने व्यवसायीहरू बताउँछन्। चीनबाट नेपाल भित्रिने तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्रीलगायतका वस्तुको आपूर्ति समयमै हुन नसक्ने जोखिम बढेको छ।
सामान्य अवस्थामा चीनका विभिन्न स्थानबाट तातोपानी हुँदै काठमाडौंसम्म सामान ल्याउन दुईदेखि तीन साता लाग्छ। तर नाका लामो समयसम्म सञ्चालनमा नआए वैकल्पिक समुद्री मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, जसमा ढुवानी समय डेढ महिनासम्म पुग्ने व्यवसायीहरूको भनाइ छ।
यसको सीधा असर आयात लागतमा पर्नेछ। लामो ढुवानी समय, अतिरिक्त भाडा र सामान रोकिँदा हुने खर्च अन्ततः उपभोक्तामै सर्ने सम्भावना रहन्छ। अर्थात् तातोपानीको अवरोधले व्यवसायीको लागत मात्र होइन, चाडपर्वको बजार मूल्यलाई समेत प्रभावित गर्न सक्छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार प्रक्रिया पूरा भइसकेका गाडीलाई रसुवा वा कोरला नाकातर्फ मोड्नु पनि सहज छैन।
नेपाल प्रवेश गरिसकेका गाडीका सामान अन्यत्र सारेर ढुवानी गर्ने विकल्पमा छलफल भए पनि नाका छिट्टै खुल्ने अपेक्षाले व्यवसायी तत्काल त्यसतर्फ अघि नबढेको उनको भनाइ छ।
लिपिङको पहिरोः अस्थायी समाधान कि स्थायी चुनौती?
सडक विभागका अनुसार तातोपानी नाका सञ्चालनमा ल्याउन लिपिङ क्षेत्रको पहिरो व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पहिरोको माथिल्लो भागमा बस्ती रहेकाले सडक काट्दा थप जोखिम उत्पन्न हुन सक्छ। तल भोटेकोशी नदीको निरन्तर कटानले सडक तथा संरचना निर्माणलाई थप जटिल बनाएको छ।
विभागले पहिरोमा जमेको पानी निकाल्ने र वर्षा कम भएपछि अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। तर दीर्घकालीन समाधानका लागि पहिरो स्थिरीकरण आवश्यक देखिएको छ।
चीन सरकारसँगको सहकार्यमा यस क्षेत्रको अध्ययनसमेत अघि बढाइएको विभागले जनाएको छ। अहिलेको प्राथमिकता भने अलपत्र परेका कन्टेनरलाई सुरक्षित रूपमा नेपालतर्फ ल्याउन सक्ने अवस्था बनाउनु रहेको छ।
२५ अर्बको राजस्व लक्ष्यमा असर
तातोपानी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा करिब १७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षका लागि कार्यालयले २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
तर आर्थिक वर्षको सुरुआतमै नाका डेढ महिनासम्म बन्द रहँदा राजस्व संकलनमा प्रत्यक्ष असर पर्ने देखिएको छ। आयात ठप्प हुँदा भन्सार राजस्व रोकिन्छ, व्यापारिक कारोबार सुस्ताउँछ र व्यवसायीको पूँजी लामो समयसम्म मालसामानमै अड्किन्छ। यो अवस्थामा सरकारले केवल सडक सञ्चालनको अस्थायी समाधानमा सीमित नभई तातोपानी नाकाको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिन्छ।
नेपालको चीनसँगको व्यापार निरन्तर विस्तार भइरहेको अवस्थामा तातोपानीजस्तो रणनीतिक नाका प्रत्येक वर्ष पहिरोका कारण अवरुद्ध हुनु अर्थतन्त्रका लागि सामान्य प्राकृतिक विपत्ति मात्र होइन, व्यापारिक पूर्वाधारको संरचनागत कमजोरी पनि हो।
तातोपानी सञ्चालनमा ढिलाइ हुँदै जाँदा यसको लागत कन्टेनरमा अड्किएको सामानभन्दा धेरै ठूलो हुनेछ- व्यवसायीको पूँजी, बजारको आपूर्ति, उपभोक्ताको मूल्य र सरकारको राजस्व सबैमा यसको असर पर्नेछ। तातोपानीको पहिरो हटाउनु तत्कालको आवश्यकता हो। तर नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वारलाई हरेक वर्षको पहिरोबाट जोगाउने स्थायी समाधान खोज्नु आर्थिक प्राथमिकता हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस