नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि परीक्षण सञ्चालनमा आएको छ। पहिलो चरणमा नौ सिटसम्मका निजी सवारीसाधनसहित सरकारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीलाई सुरुङमार्ग हुँदै काठमाडौं-धादिङ आवागमन खुला गरिएको हो।
सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि कार, जीप र भ्यानलगायत नौजनासम्म यात्रु क्षमता भएका निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइएको छ। हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने सुरुङमार्गको अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरिँदैछ। विभागले परीक्षणबाट प्राप्त अनुभवका आधारमा एक-दुई दिनभित्रै दुईतर्फी आवागमन खुला गर्ने तयारी गरेको जनाएको छ।
सञ्चालन समय पनि बढाइने
सुरुङमार्गको परीक्षण सफल हुँदै गएमा सञ्चालन समय क्रमशः विस्तार गर्ने योजना छ। सुरुमा बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गर्ने र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने तयारी गरिएको छ।
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं-नौबिसे सडकखण्डमा हुने जाम घट्ने, यात्रा समय छोटिने तथा यात्रु र मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
सुरुङभित्र ४० किलोमिटरभन्दा बढी गति निषेध
सुरुङभित्र सवारी चलाउँदा सुरक्षाका लागि निश्चित नियम लागू गरिएको छ। सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी हुन नहुने, हेडलाइट बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न तथा ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ।
पैदलयात्री, दुईपांग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रवेश दिइने छैन।
सात वर्षपछि सञ्चालनमा
करिब २४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरिएको थियो। तत्कालीन रूपमा आपत्कालीन तथा परीक्षण प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको सुरुङ अब सर्वसाधारणका निजी सवारीका लागि समेत खुला गरिएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित जापानको हाज्मा-आन्दो जेभीलाई जिम्मा दिइएको आयोजना कोरोना महामारी, जग्गाको मुआब्जा विवाद तथा स्थानीयस्तरका समस्यालगायत कारणले प्रभावित भएको थियो।
म्याद पटक-पटक थपिएपछि आयोजना झन्डै सात वर्षमा निर्माण सम्पन्न भएको हो। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा खण्डको लामो जाम र सडक जोखिम घटाउने मात्र होइन, काठमाडौं उपत्यका र बाहिरी जिल्लाबीचको यातायात पूर्वाधारमा समेत महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस