प्रधानमन्त्री बालेन्द्र शाहसँग संघीय संसद्मा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि हालसम्म ११ सांसदको नाम दर्ता भएको छ। प्रतिनिधिसभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने चार स्थानका लागि नाम पठाउन बाँकी रहेकाले अहिले ११ जनाको मात्रै सूची तयार भएको हो।
संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले नाम दर्ता गराएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङ प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भएका छन्। त्यस्तै, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाको नाम दर्ता भएको छ।
नेपाली कम्युनिस्ट पार्टीबाट सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रधानमन्त्रीसँग प्रश्न गर्ने भएका छन्। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीको नाम पनि प्रश्नकर्ताका रूपमा दर्ता भएको संसद् सचिवालयले जनाएको छ।
रास्वपाका ४ सांसदको नाम आउन बाँकी
प्रतिनिधिसभा नियमावलीले विभिन्न दलको प्रतिनिधित्वका आधारमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने सांसदको संख्या निर्धारण गरेको छ। सोहीअनुसार रास्वपाका लागि चार स्थान छुट्याइएको छ।
तर रास्वपाले थप चार सांसदको नाम उपलब्ध नगराएकाले हालसम्म ११ जनाको मात्रै सूची तयार भएको हो। रास्वपाले चारै सांसदको नाम पठाएपछि प्रधानमन्त्री बालेनसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने १५ सदस्यीय पूर्ण सूची तयार हुने संसद् सचिवालयले जनाएको छ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममार्फत सांसदहरूले सरकारको कामकारबाही, नीति तथा समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नेछन्।
प्रतिक्रिया दिनुहोस