२०८३, आश्विन १० गते

प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै, महासभामा जलवायु विपत्तिको मुद्दा उठाउने

सोमवार , भाद्र २२, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्। उनी असोज ९ गते स्वदेश फर्किने तयारी रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह केही दिनका लागि न्यूयोर्क जाने तयारीमा छन्। महासभामा उनले नेपालले भोगिरहेको जलवायुजन्य विपत्ति, त्यसबाट मुलुकले बेहोर्नुपरेको क्षति तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तयारी थियो। तर, रसुवाको भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको पछिल्लो विपद् र जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु उपयुक्त हुने भन्दै प्रधानमन्त्रीको भ्रमणबारे छलफल अघि बढाइएको थियो।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने टोलीमा सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्रसचिव अमृतबहादुर राईसहितका अधिकारी सहभागी हुने तयारी छ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको नेपालले अन्तर्राष्ट्रिय मञ्चमा विपद् व्यवस्थापन, जलवायुजन्य जोखिम तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र सहकार्यको विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको भ्रमण र महासभामा सम्बोधनको औपचारिक कार्यक्रम तथा प्रतिनिधिमण्डलको अन्तिम विवरण भने सरकारले औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!