२०८३, आश्विन १० गते

सेयर बजारमा लाभकर घट्यो, दीर्घकालीन लगानीकर्तालाई अब ३.७५ प्रतिशत मात्रै

सोमवार , आश्विन ५, २०८३

सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा आएको छ। मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएसँगै दीर्घकालीन लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त लाभमा तिर्नुपर्ने कर ५ प्रतिशतबाट घटेर ३.७५ प्रतिशत कायम भएको हो।

अर्थ मन्त्रालयले सेयर बजार पुनरुत्थान कार्यक्रमअन्तर्गत पुँजीगत लाभकर घटाउने प्रस्ताव अघि सारेको थियो। उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा सूचना प्रकाशित गरिएको हो।

नयाँ व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको सेयर ३६५ दिनभन्दा बढी अवधिसम्म स्वामित्वमा राखेर बिक्री गर्दा प्राकृतिक व्यक्तिले प्राप्त गरेको लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।

यसैगरी, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गरिएको छ। यसअघि दीर्घकालीन र अल्पकालीन लगानीमा क्रमशः ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो। नयाँ व्यवस्थाले लामो अवधिका लागि सेयर होल्ड गर्ने प्राकृतिक व्यक्तिलाई करको भार घटाएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था आयकर ऐन, २०५८ को दफा ९५क. को उपदफा (२) को खण्ड (क) तथा अनुसूची–१ को दफा १ को उपदफा (४) को खण्ड (ख) बमोजिम लाग्ने लाभ रकममा लागू हुनेछ।

पुँजीगत लाभकरमा गरिएको यो परिवर्तन सरकारले सेयर बजार पुनरुत्थानका लागि अघि सारेका कार्यक्रममध्ये एक हो। नयाँ व्यवस्थापछि दीर्घकालीन लगानीकर्ताले सेयर बिक्री गर्दा प्राप्त लाभमा विगतको तुलनामा कम कर तिर्नुपर्नेछ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!